
काठमाडौं । नव गायक करण राईको पहिलो गीति एल्बम ‘द काइट्स’ विमोचन गरिएको छ ।
हिजो शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिति वरिष्ठ गायक गणेश रसिक, विशेष अतिथिहरू लोकप्रिय गायक राजेश पायल राई, लोकप्रिय अभिनेता दयाहाङ राई, रैथाने संगीतज्ञ झुमा लिम्बु र कवि–गीतकार–निर्देशक तथा कार्यक्रमका सभापति प्रकाश आङ्देम्बेले गायक करणको एल्बम एकसाथ विमोचन गरेका हुन् ।
एल्बम बिमोचनपछि करणले २ गीतहरु ‘रानी हो’ र ‘चङ्गा’ लाइभ ब्याण्डसहित गाएका थिए । आफ्नो पहिलो एल्बमको बारेमा करणले भने ‘सानै उमेरदेखि गाउँथे, आज आएर पहिलो एल्बम उहाँहरू (गणेश रसिक, राजेश पायल राई, दयाहाङ राई, झुमा लिम्बु)को हातबाट विमोचन गर्न पाउँदा चङ्गा जस्तै आकाशमा उडिरहेको महसुस गरिरहेको छु ।’ बाल्यकालदेखि नै गीत संगीतमा चासो राख्ने करण अमेरीकाबाट नेपाल फर्किएर उनले यो एल्बम बजारमा ल्याएका हुन् ।
कार्यक्रमका प्रमुख अतिति गणेश रसिकले गायक करणलाई शुभकामना दिँदै अहिले र पहिलेका गीत–संगीतको अन्तर र सहजताको बारेमा प्रष्ट्याएका थिए । रसिकले भने ‘हामीले जानेर नजानेर हिँडेको बाटोमा, हामी गोरेटोमा हिड्यौँ । भन्ज्याङ हिड्यौँ अहिले नयाँ पुस्ताले त्यो संगीतको बाटो पिच बनाउनु भएको छ । त्यहि बाटोको क्रममा करण राईपनि आउनु भएको छ ।’
रसिकले थप्दै भने ‘करण भाइले अमेरिकामै एल्बम बिमोचन गर्न सक्नुहुन्थ्यो, तर किन नेपालमा गर्नुभयो भन्दा मेरो रगतको नाता गाँसिएको छ, मैले नेपालकै संगीत, शब्द र लय गाउनुपर्छ भनेर नेपाल आएजस्तो लाग्छ ।’
त्यस्तै ‘द काइट्स’ एल्वमको बारेमा कार्यक्रमका विशेष अतिथि राजेश पायल राईले करणलाई संगीतको श्रद्धा गर्ने व्यक्तिको रुपमा चिनेको बताए । राजेशपायलले भने ‘चङ्गा जसरी उड्यो भने त्यो सम्पूर्ण दुःख, पीडा, रिस, राग, झिजोहरु उडिरहेको छ, हामीहरू संसारमा प्रफुल्ल मनले पनि उड्न सक्छौँ भन्ने पनि अर्थ लाग्छ । त्यहि कारण उनको मन, उनको संगीत, चङ्गा जसरी चैट नभइकन संसारभरलाई उडाएर, नेपाली माटोको संगीत र नेपाली मौलिक स्वर नै गुञ्जाउनेछ सायारेम शुभकामना ।’
भुटनिज शरणार्थी क्याम्पमा जन्मिएका करणको बाल्यकाल सम्झिदै राजेशपायलले भने ‘जन्म कहाँ छ फरक पार्छ जस्तो लाग्दैन, जन्मिसकेपछि उसको कर्मले र उसको क्षमता प्रदर्शनले ठुलो महत्व राख्छ ।’
करणलाई बधाई दिँदै कार्यक्रमका विशेष अतिथि दयाहाङ राईले पनि ‘द काइट्स’को प्रसंसा गरे । दयाहाङले भने, ‘चङ्गासँग साच्चिकै हाम्रो मन साटिन्छ, त्यो संग रमाइन्छ, अनी करण भाइले गाउनुभएछ, प्रकाशजीले लेख्नु भएछ, गज्जब छ यो गीत ।’
त्यस्तै विशेष अतिथि झुमा लिम्बुले पनि करणलाई शुभकामना दिइन् । कार्यक्रमका सभापति तथा कवि, गीतकार प्रकाश आङ्देम्बेले पनि ‘द काइट्स’ एल्बमका लागि शुभकामना दिँदै करणलाई नजिकबाट चिनाए । प्रकाशले भने, ‘नागरिकता र सीमाना चारपाटे भौगोलिक सीमानाभित्र होइन, उनीहरूसँग पनि नेपाल छ तर उनीहरूले चाही नेपाललाई भूगोलभित्र होइन दिलभित्र सजाएर बाँच्छन् । ती मध्येका प्रतिनिधि पात्र हुन् करण राई ।’
सार्वजनिक भएको ‘द काइट्स’ एल्बममा ९ वटा गीत समावेश गरिएका छन् । सबै गीतमा करणको स्वर रहेको छ, भने ‘फूलै राम्रो’ डोएट गीतमा भने करणलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । एल्बमका गीतहरुमा क्रमशः प्रकाश आङ्देम्बे, डम्बर नेपाली, धरारानी, थुक्तेन डु«क्पा र सपना भुजेलको शब्द रहेको छ भने क्रमश देबेश राई, डम्बर नेपाली र महेन्द्र राईको संगीत रहेको छ ।
सबै गीतहरुको एरेञ्ज गायक तथा संगीतकार देबेशले नै गरेका छन् ।















प्रतिक्रिया