
काठमाडौं, २७ साउन । बृहत् स्वतन्त्र राष्ट्रिय अभियानले आगामी मंसिर ४ गते हुने निर्वाचनमा साझा चुनाव चिह्न ‘लौरो’ लिएर प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल नागरिक स्वतन्त्र सञ्जालका अध्यक्ष दिनेश सुवेदीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा स्वतन्त्र, परिवर्तन चाहने शक्ति र दलहरु एउटै साझा चिह्न लिएर जाने निर्णय गरिएको जानकारी दिएका छन् ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा हामी स्वतन्त्र व्यक्तिहरु, परिवर्तन चाहानेहरु शक्तिहरु र राजनीतिक दलहरु एउटै साझा चिह्न लिएर जाने भएका छौं, सबै शक्तिहरु एक भएर एउटै उद्देश्य लिएर साझा एजेण्डा, नीति, राजनीतिक दर्शन तयार पारेर आम नागरिकको अपनत्व लिनेगरि लौरो चिह्न लिएर चुनावमा जानेछौं ।’
उनले देशमा भएका गलत परिपाटीलाई सुधार गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकत्ता औंल्याए । जनताको शक्तिलाई यो दुनियाँमा कसैले पनि रोक्न नसक्ने उनको भनाइ छ । जनताले परिवर्तन चाहेको चर्चा गर्दै उनले समानुपातिक निर्वाचन प्रणालीको नाममा नेपाली राजनीतिमा टीके प्रथा हावी भएको टिप्पणी समेत गरेका छन् ।
‘देशमा प्रदेश सरकारको नाममा धेरै बेतिथि भएका छन् । त्यसलाई सुधार गरेर, भ्रष्टाचारीलाई कानुनी कठघरामा ल्याउनुपर्ने बेला आएको छ,’ पत्रकार सम्मेलनमा उनले भने । अब स्वतन्त्र व्यक्तिहरुले मात्र देशको विकास गर्ने दाबी समेत गरेका छन् ।















प्रतिक्रिया