
काठमाडौं, २६ साउन । भारतले नेपाली चियालाई करको दायरामा ल्याउन खोजेको भन्दै चिया व्यवसायीहरूले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
इलाममा उत्पादन भएको चिया भारत निर्यातमा ९५ प्रतिशत छूट पाइरहेका व्यवसायीलाई मर्का पर्नेगरी भारतले करको दायरामा ल्याउन खोजेको भन्दै उनीहरूले सहजीकरणको माग गरेका छन् ।
व्यवसायीहरूले भारतको राज्यसभा र लोकसभामा पेश भएको नेपाली चियाको निर्यातलाई प्रभावित पार्ने नीतिलाई तत्काल रोक्ने पहलका लागि सरकारसमक्ष माग गरेका छन् । आज बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले चियासँग सम्बन्धित अन्य समस्याहरूको दीर्घकालीन समाधान गर्न समेत सरकारलाई आग्रह गरेका छन् ।
चिया व्यवसायीहरूले भारतीय बजारमा शतप्रतिशत छूट भई चिया निर्यात हुँदै आइरहेको भन्दै अहिले बिना कुनै पनि जानकारी भारतीय चिया निकायले वाणिज्य सन्धीविपरीत नेपाली चियाको निर्यातलाई दुरुत्साहन गर्न खोजेको आरोप लगाएका छन् ।
विश्व बजारमा लोकप्रिय इलामका चियालाई गुणस्तरहीन चियाको संज्ञा दिई विभिन्न बहाना बनाउँदै करको दायरामा ल्याउने प्रस्ताव भारतको राज्यसभा र लोकसभामा पेश गरेको भन्दै व्यवसायीहरूले आपत्ति जनाएका हुन् । नेपाल सरकारको उच्च राजनीतिक संवादमार्फत कुटनीतिक पहल गरी समस्याको समाधान गर्नका लागि व्यवसायीहरूले नेपाल सरकारसमक्ष आग्रह गरेका छन् ।
चिया भारत निर्यात नभएमा १५० भन्दा बढी उद्योग बन्द हुने व्यवसायीहरूको भनाइ छ । उनीहरूले राष्ट्रको ठूलो लगानी धरासयी हुने, चिया खेतीमा आश्रित २६ हजार कृषकहरू आयविहीन हुने, ८० हजार चिया मजदुर बेरोजगार हुने भयावह स्थितिको श्रृजना हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
इलाम जिल्ला नेपालको अर्थोडक्स चियाको उत्पादन गर्ने मुख्य जिल्लाको रूपमा रहेको छ । कुल अर्थोडक्स चिया उत्पादनको ९० प्रतिशत उत्पादन हुने इलाममा १३ हजार हेक्टर चिया क्षेत्रको विकास भई अर्थोडक्स, ग्रिन र स्पेशन चियाको उत्पादन हुने गरेको छ । त्यस्तै, चिया खेतीमा २६ हजार कृषकहरूको संलग्नता रहेको र ८० हजार भन्दा बढीले ग्रामीण रोजगारी पाएको व्यवसायीहरूको भनाई छ ।















प्रतिक्रिया