
काठमाडौं, २५ साउन । नेपाली नागरिक पार्टीले राष्ट्रघातको आरोप लागेका नेता र दलहरूलाई निर्वाचनमा प्रतिबन्ध लगाएर दण्डित गर्नुपर्ने बताएको छ ।
सो पार्टीका अध्यक्ष रामचन्द्र बानियाँ क्षेत्रीले नेपालका सबै राजनीतिक शक्तिहरूको गोलमेच सम्मेलनबाट जनताको नयाँ संविधान निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्दै राष्ट्रघात गर्ने नेता र दलहरूलाई आगामी निर्वाचनमा सहभागी हुन नदिएर दण्ड दिनुपर्ने नेपाली बताएका हुन् ।
राष्ट्र मासिने खतरा बढेको भन्दै उनले सबै मिलेर विद्रोह गर्न आह्वान समेत गरेका छन् । उनले वर्तमान सरकारलाई राष्ट्रघातीको संज्ञा दिँदै यसलाई विघटन गरेर जनता, सेना, सुरक्षाकर्मी, राजादेखि माओवादीसम्मको एक खुकुलो विद्रोही मोर्चा निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।
नेपाललाई हिन्दु अधिराज्य स्थापना गर्ने लक्ष्यसहित स्थापना भएको नेपाली नागरिक पार्टीले अहिले मुलुक अप्ठ्यारो अवस्थामा गुज्रिएको उल्लेख गरेको छ । आज बुधबार काठमाडौं पत्रकार सम्मेलन गर्दैै पार्टीले देशका राजनीतिक दलहरू विदेशी इशारामा हिँडेको र नेताहरू केही गर्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरेको छ ।
‘२००७ सालदेखि राजनीतिक दलहरूले देशमा आतंक, हत्याकाण्ड मच्चाउने, हत्यारा, अपराधी, देशको सीमाना बेच्नेजस्ता कुकर्म गरेको हुनाले दलहरूप्रति मलाई घृणा लाग्छ । नेपालका नदीनाला बेच्ने नेपाली कांग्रेस हो । कांग्रेसकै कारण जनता एमसीसी सम्झौताको पक्षमा जान वाध्य भए,’ वरिष्ठ राजनीतिज्ञ प्रेम कैदीले पत्रकार सम्मेलनमा भने । उनले नेपाली सेनाले लुटेरा र अपराधीको संरक्षण गरिरहेको आरोप समेत लगाएका छन् ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अपराधी र फटाहको संज्ञा दिँदै उनले जापान पुगेर मधेशका जनतालाई नागरिकता दिन खोजेको आरोप लगाएका छन् । वीरगञ्ज र रक्सौल नाकाबाट आउने नागरिक नेपाली जनता नभएको दाबी गर्दै उनले भने, ‘यो प्रचण्ड भन्ने पनि अपराधी हो । जसले एमसीसी र एसपीपीमा समर्थन गर्यो । उ नेपाली राजनीतिको कुख्यात पात्र हो ।’















प्रतिक्रिया