४ कार्तिक २०८३, बुधबार

देवान, गुरुङ, चौधरी र समाललाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार दिइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पत्रकार गोपाल देवान, अनिता गुरुङ, राजु चौधरी र अप्सरा समाललाई यस ‘आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०७९’ प्रदान गर्ने भएको छ ।

फोनिजको गत आइतबार सम्पन्न संघीय समिति सचिवालय बैठकले उक्त निर्णय गरेको हो । निर्णय अनुसार छापा माध्यमतर्फ सुनसरीका पत्रकार गोपाल देवान, अनलाइनतर्फ काठमाडौंकी पत्रकार अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका पत्रकार राजु चौधरी र रेडियोतर्फ उदयपुरकी पत्रकार अप्सरा समाललाई छनोट गरिएको हो ।

त्यसैगरी यो वर्षको ‘फोनिज मातृभाषा सम्मान–२०७९’ काठमाडौंबाट प्रकाशित हुँदै आएको बुङ्वाखा मासिकलाई प्रदान गरिने भएको छ । त्यस्तै फोनिजको सांगठनिक जीवनमा अतुलनीय योगदान पुर्याएको भन्दै संस्थाका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ तथा पूर्वध्यक्षद्वय खिम घले र मोहनसिंह लामालाई अभिनन्दन गर्ने निर्णय पनि गरेको छ ।

पुरस्कार र सम्मान फोनिजको २३औँ स्थापना दिवसका अवसरमा आगामी शुक्रबार काठमाडौँमा आयोजना गरिने मूल समारोहमा प्रदान गरिने बताइएको छ ।

फोनिजले पुरस्कार तथा सम्मान छनोट गर्न निर्वतमान अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा सल्लाहकारद्वय आङदावा शेर्पा र मनोज घर्तीमगर सदस्य रहेको ‘पुरस्कार तथा सम्मान छनोट समिति’ गठन गरेको थियो ।

सम्मान तथा पुरस्कार प्राप्त गर्ने पत्रकार तथा संस्थाको पेशागत तथा संस्थागत विवरण यस प्रकार छन्–

गोपाल देवाल, सुनसरी (आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९)

सुनसरी कर्मथलो बनाएर २०४२ सालबाट साहित्यिक पत्रिका ‘काँचुली’बाट पत्रकारिता सुरु गर्नुभएका गोपाल देवानले पत्रकारितामा तीन दशक बढी समय व्यतित गरिसकेका छन् । हाल उनी ‘विश्वस्त सूत्र साप्ताहिक’को सम्पादक तथा प्रकाशक छन् । दृष्टि साप्ताहिकलगायत दर्जनभन्दा धेरै सञ्चारमाध्यममा काम गरेको अनुभव देवानसँग छ । उनले धरानको ब्लाष्ट टाइम्स दैनिकका संस्थापक सम्पादक भएर समेत काम गरिसकेका छन् । साहित्यमा ‘अविराम क्रान्ति’ नामले परिचित उनी ‘आरम्भ नाट्य डबली’को अध्यक्षसमेत रहेका छन् ।

अनिता गुरुङ, काठमाडौँ (आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९)

हाइलाइट्स टुरिजम डटकमको कार्यकारी सम्पादक अनिता गुरुङले २०५६ सालमा ‘रेडियो सगरमाथा’बाट पत्रकारिता सुरु गरेकी हुन् । सगरमाथा टेलिभिजनमा करिब १० वर्ष नेतृत्वदायी भूमिकामा काम गरेकी उनी लामो समयदेखि गोरखापत्र दैनिकको गुरुङ भाषा पृष्ठ संयोजकका रूपमा कार्यरत छिन् । फोनिजका निवर्तमान सल्लाहकार गुरुङले रेडियो नेपालमा मिडियाविज्ञ भएर काम गरिसकेकी छिन् । पत्रकारिता क्षेत्रमा बहुआयामिक छवि बनाएकी गुरुङले सञ्चारजन्य विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छिन् ।

राजु चौधरी, चितवन (आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९)

चितवनलाई आधार बनाएर पत्रकारितामा क्रियाशील राजु चौधरीले २०६७ सालमा कायाकैरन दैनिकबाट पत्रकारिता सुरु गरेका हुन् । २०७२ सालसम्म कायाकैरनमा काम गरे । अभियान टेलिभिजन, रेडियो अर्पण, नमस्ते टेलिभिजन र रेडियो ध्रुवतारामा समेत उनले काम गरिसकेका छन् । २०७० देखि २०७५ सालसम्म चितवनबाट इमेज टेलिभिजनमा आवद्ध भएर काम गरे । हाल कान्तिपुर टेलिभिजनको चितवन संवाददाताका रूपमा काम गरिरहेका उनी फोनिजको निवर्तमान संघीय सदस्यसमेत हुन् ।

अप्सरा समाल, उदयपुर (आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९)

अप्सरा समाल उदयपुरमा रहेर लामो समयदेखि रेडियो पत्रकारित गरिरहेकी छिन् । समालसँग सामुदायिक रेडियो उदयपुरमा पाँच वर्ष कार्यक्रम संयोजक तथा समाचार प्रमुखका रूपमा काम गरेको अनुभव छ । उनले सोही रेडियोमा चार वर्ष स्टेशन मेनेजर भएर कुशलतापूर्वक नेतृत्व गरेकी छिन् । फोनिज उदयपुरको अध्यक्ष हुँदै हाल प्रदेश १ को उपाध्यक्ष रहेकी उनी पत्रकारसँग सम्बन्धित विभिन्न संस्थामा समेत आबद्ध छिन् ।

बुङ्वाखा मासिक (फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७९)

बुङ्वाखा बान्तावा राई भाषामा प्रकाशन भइरहेको मासिक पत्रिका हो । २०६१ मङ्सिर २४ गते स्थापना भई पुसदेखि निरन्तर प्रकाशनकामा रहेको बुङ्वाखाको हालसम्म २०८ पूर्णाङ्क प्रकाशित भइसकेको छ । बुङ्वाखामार्फत बान्तावा भाषा, साहित्य र मातृभाषा पत्रकारिताको विकासमा टेवा पुगेको छ । मातृभाषा पत्रकारितामा उल्लेख्य योगदान गरेवापत ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार–२०७० प्राप्त गरिसकेको बुङ्वाखा प्रेस काउन्सिल नेपालको वर्गीकरणमा १० वर्षदेखि नियमितरूपमा ‘क’ वर्गमा रहँदै आएको छ ।