५ कार्तिक २०८३, बिहिबार

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहको सातौं वार्षिकोत्सव सम्पन्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी (पश्चिम), २३ साउन । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहको सातौं वार्षिकोत्सव सम्पन्न भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक समारोहबीच वार्षिकोत्सव सम्पन्न भएको हो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले महाविद्यालयद्वारा प्रकाशित ‘युक्ति दर्पण’ स्मारिकाको बिमोचन गर्नाको साथै वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार तथा कदरप्रत्र प्रदान गरेका छन् ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले अपराध अनुसन्धान, शान्ति सुरक्षा एवम् अमनचयन कायम गर्दै नागरिक अधिकारको संरक्षण, सम्वर्द्धन गरी काम गर्नुपर्ने प्रहरी कर्मचारीहरूलाई सोही अनुरुपको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्नुपर्ने बताए । उनले विशेष उद्देश्यसहित स्थापना भएको महाविद्यालयले विविध प्रकारका व्यावसायिक तालिम सञ्चालन गरी छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै महाविद्यालयमा सञ्चालन हुने अन्य सेवाकालीन तथा आधारभूत तालिम समेत स्तरीय र व्यावसायिक रुपमा सञ्चालन हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

नेपाल प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम)का प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक मधुसूदन लुइँटेलले उक्त अवसरमा धन्यवाद ज्ञापन गरेका थिए । वार्षिकोत्सवको अवसरमा महाविद्यालय परिसरमा वृक्षरोपण समेत गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नारी विकास समितिकी अध्यक्ष होम माया पौडेल आचार्य, सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्याल, जिल्ला प्रशासन कार्यालय नवलपरासी (पश्चिम)का प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी कर्मचारीहरू र प्रशिक्षार्थीहरूको उपस्थिति थियो ।