
काठमाडौं, २२ साउन । काठमाडौँ उपत्यकामा आजदेखि नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आज आइतबार एक कार्यक्रम गरी नो हर्न अभियानलाई पुनः शुरू गरिएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारी साधनमा टासेँर कार्यक्रमको समुद्घाटन गरेका छन् ।
नो हर्न अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरुमा सचेतना फैलाउनका लागि आजदेखि पद्मकन्या बहुमुखी क्याम्पसका १०० जना विद्यार्थीहरू १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् ।
हर्नले ध्वनी प्रदुषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई निरन्तरता दिनका लागि यो कार्यक्रम पुनः शुरू गरिएको काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले बताए ।
काठमाडौँ उपत्यकामा ध्वनी प्रदुषण नियन्त्रणका लागि २०७४ साल वैशाख १ गतेदेखि नो हर्न लागू गरिएको थियो । जस अनुसार अत्यावश्यक पर्दाबाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ । कार्यक्रम रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्राङ्गणबाट शुरुवात भएको थियो ।
साथै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी तथा भोलेन्टियर र पद्मकन्या क्यामप्सका प्राध्यापक र विद्यार्थीहरूले सिंहदरबार चोकमा गइ सार्वजनिक तथा निजी सवारी साधनहरुमा नो हर्न लेखिएको स्टिकर टाँसेका थिए ।
उक्त कार्यक्रम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, बागबजार स्थित पद्मकन्या बहुमुखी क्याम्पस र धापसी स्थित कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलले संयुक्त आयोजना गरेको हो । कार्यक्रममा करिब दुई सय जनाको सहभागिता थियो ।















प्रतिक्रिया