शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

पाँच दलीय गठबन्धनको चुनावी तालमेल संविधानविपरीत : डा. रावल

दैनिक नेपाल २०७९ साउन २० गते १४:५७

काठमाडौं, २० साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधानविपरीत हुने बताएका छन् ।

उनले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरुबीच हुने भन्दै अहिले कायम रहेको पाँच दलीय गठबन्धनबीच कुनै पनि कुरा नमिल्ने तर्क गर्दै गठबन्धन गरे संविधानविपरीत हुने बताएका हुन् । उनले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनले संविधानविपरीत तालमेल गरी लोकप्रिय मत मागेको आरोप लगाएका छन् ।

‘दुई–दुई पटक संविधानसभाको निर्वाचन गरेर नेपालको संविधान जारी गर्यौं । संविधानको धारा २६९ मा समान दर्शन, विचाराधारा र कार्यक्रम भएकाहरू एक ठाउँमा आउँछन् र दल बन्छ भन्ने कुरा छ,’ डा. रावलले भने, ‘स्थानीय तहको निर्वाचनमा विपरीत सिद्धान्त भएका दलहरुले तालमेलको नाममा लोकप्रिय मत मागे । यो नेपालको संविधानको विपरीत छ । यो एक प्रकारको निर्दलीय अभ्यास हो । आउने निर्वाचनमा के गर्छन्, त्यो हेर्नुपर्छ । पाँच दलीय गठबन्धनले तालमेल गर्ने कुरा गरेको पाएका छौं ।’

‘हिजो मात्रै गठबन्धन सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा गर्नु सरकारको कर्तव्य हो । सरकारले निर्वाचनको मिति घोषणा गरेर एकदमै ठूलो काम गरेको होइन । यो नियमित रुपमा सरकारले बहन गर्नुपर्ने दायित्व हो,’ रावलले भने, ‘आम निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने वा नहुने कुराले लोकतान्त्रिक प्रक्रियालाई प्रभावित गर्दछ ।’ कतिपय निर्वाचनमा धाँधली भएको घट्ना सुनाउँदै उनले मतदाताले भयरहित वातावरणमा मत हाल्न नसकेको घट्ना स्मरण गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित