२ कार्तिक २०८३, सोमबार

मिस युनिभर्स नेपालको फाइनलमा पुगिन् डा. आयुष्नोभा (नामावलीसहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मिस युनिभर्स नेपाल २०२२ को फाइनलका लागि डा. आयुष्नोभा ढुङ्गाना चयन भएकी छिन् ।

अर्को साता चयन हुने यो प्रतियोगितामा ३९ जनाबाट फाइनलका लागि २० जना प्रतियोगी चयन भएका हुन् । चयन भएका २० जनामा आयुष्नोभा मात्र डाक्टर हुन् । बाँकी प्रतियोगिहरु मोडल तथा विधार्थीहरु छन् ।

सबैका लागि स्वास्थ्य भन्ने नारासहित आफू यो प्रतियोगितामा उत्रिएको डा. आयुष्नोभाले बताएकी छिन् । काठमाडौंमा रहेर छालासम्बन्धी रोगको सेवा गरिरहेकी आयुष्नोभा चाँडै नै स्वास्थ्य सेवाका लागि दुर्गम जाने योजनामा थिइन् ।

यही क्रममा मिस युनिभर्स नेपालको आह्वान गरेपछि उनी यो प्रतियोगितासँग जोडिएकी हुन् । डाक्टरले बिरामीको उपचारसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गरेर मिस युनिभर्समा पनि नेपाललाई चिनाउन सक्छ भन्ने कुरा देखाउन यो प्रतियोगितामा भाग लिएको आयुष्नोभाको भनाइ छ ।

आफू पूर्ण तयारीका साथ यो प्रतियोगितामा उत्रिएकाले यस पटकको उपाधि जित्ने विश्वास उनको छ । मिस युनिभर्स नेपालमार्फत विभिन्न सामाजिक कार्य गर्नाका साथै विपन्नहरुका लागि स्वास्थ्य सेवामा आफू निरन्तर जुट्ने पनि उनले बताएकी छिन् ।

यसरी डा. आयुष्नोभासहित चयन भएका अन्य १९ प्रतियोगीमा रजनी मिश्र, रिजु खड्का, जस्मिन खड्का, सृष्टी हाडा, रुप्सी श्रेष्ठ, सृष्टी तामाङ, मोनालिसा पराजुली, रेणुका चौधरी, दीक्षा खाती, प्रतिभा महर्जन, सामना कार्की, बिपना अधिकारी, मोनिका चौधरी, सोफिया भुजेल, प्रियँसु महत, आकृति मानन्धर, अनु मनमोल क्षेत्री, आश्मा केसी र सोफिया जोशी छन् ।

यसअघि ३९ जना यो प्रतियोगिताको लागि चयन भएका थिए । विभिन्न तीन वटा टास्कबाट उत्कृष्ट २० भित्र परेका यी प्रतियोगीलाई फाइनलमा चयन गरिएको आयोजक पक्षले जनाएको छ । यस पटक यो प्रतियोगिताको कोरियोग्राफी अभिनेता तथा चर्चित मोडल प्रशान्त ताम्राकारले गर्दैछन् ।

आयोजक तथा पूर्व मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठका अनुसार अब १० दिनको क्लोज क्याम्पपछि प्रतियोगीहरुलाई आगामी ९ भदौमा फाइनलमा उतारिने भएको छ । केही दिनमै प्रतियोगीको क्लोज क्याम्प शुरू हुने भएको छ । फाइनलमा मिस युनिभर्स नेपालको उपाधि जित्ने प्रतियोगीले नेपालको प्रतिनिधित्व गर्दै मिस युनिभर्स २०२२ मा भाग लिने छन् ।