५ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय बीमा कम्पनी नवौं वर्षमा प्रवेश, प्रतिस्पर्धी बन्न सरोकारवालाको सुझाव

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । सरकारी स्वामित्वको एकमात्र निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी नवौं वर्षमा प्रवेश गरेको छ ।

५५ वर्षअघि राष्ट्रिय बीमा संस्थानको नाममा स्थापना भएको संस्थाले जीवन र निर्जीवन बीमाको कारोबार एकसाथ गर्दै आएको थियो । तर, २०७१ साउन १८ गतेदेखि निर्जीवन बीमा व्यवसाय छुट्टै सञ्चालन गरिएको थियो ।

निर्जीवन बीमाको सन्दर्भमा सार्वजनिक संस्थानका रूपमा रहेर देशका २० वटा निर्जीवन बीमा कम्पनीमध्ये चौथो स्थानमा रहेको कम्पनीले यो आर्थिक वर्ष निर्जीवन बीमामा प्रिमियम सङ्कलनका हिसाबले झण्डै १५० प्रतिशतले बढोत्तरी गरेर अगाडि बढेको कम्पनीको भनाइ छ ।

५५ वर्षअघि जुन रूपले नेपालमा अग्रणी बीमा कम्पनीका रूपमा शुरू गरेको थियो अब पनि प्रिमियम सङकलनका हिसाबले अग्रणी हुने दिशामा कम्पनी अगाडि बढेको बताइएको छ ।

कम्पनीमा अहिले नेपाल सरकारको ४७.५ प्रतिशत, कर्मचारी सञ्चय कोषको २२ प्रतिशत, नेपाल बैंक लिमिटेडको १०.९६ प्रतिशत र सर्वसाधारण सेयरतर्फ १९.५४ प्रतिशत रहेको भने आर्थिक वर्ष २०७८/७९ मा २६४.७१ करोेड रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीको नवौं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित समारोहमा कम्पनीमा उत्कृष्ट व्यापार गर्ने अभिकर्ता हरिशरण सिबाकोटी, कान्ता शाह, सदिक्षा न्यौपाने, उत्तर बहादुर ऐर, नारायण गिरी, केशवदत्त जोशीलगायतलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट शाखाहरु जनकपुर, भक्तपुर र पाल्पा शाखालाई सम्मान गरिएको थियो ।

नेतृत्वदायी र प्रतिस्पर्धी बन्न सुझाव

वार्षिकोत्सवको अवसरमा कम्पनीलाई नेतृत्वदायी र प्रतिस्पर्धी बन्न सरोकारवालाहरूले सुझाव दिएका छन् । समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकास गरी बीमा बजारको नेतृत्वदायी भूमिका खेल्न सरोकारवालाहरुले राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई सुझाव दिएका हुन् ।

अर्थमन्त्रालयका राजस्व सचिव कृष्णहरी पुष्करले कम्पनीले पूर्ण प्रतिवद्घताका साथ प्रभावकारी सुशासन एवम् चुस्त सेवामार्फत आफना ग्राहक तथा सरोकारवालाहरुको अपेक्षा पूरा गर्दै अगाडि बढ्न आग्रह गरे । सरकारी स्वामित्वको एकमात्र निर्जीवन बीमा कम्पनीका रूपमा कम्पनीले आफ्नो विगतको कार्य प्रगतिको समीक्षा गर्दै थाती रहेका लेखापरीक्षण कार्य सम्पन्न गर्न पनि उनले आग्रह गरेका छन् ।

प्रचलित बीमासम्बन्धी कानुनको ऐन एवम् बीमा नियमावलीको अधीनमा रही समयमै आफ्नो वित्तीय विवरणको प्रकाशन गर्नाका साथै वित्तीय पारदर्शिता, बीमाको व्यवसायिकता, संस्थाको मर्यादा तथा गुणात्मक क्षमता बढाउन पनि उनले आग्रह गरे ।

त्यस्तै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीले आफनो सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पुर्याई बीमाको पहुँच र दायरा बृद्घि गर्न बीमा बजारका नवीनतम अवसरलाई आत्मसात गर्दै प्रतिस्पर्धात्मक एवम् ग्राहकमुखी बीमा सेवा उपलब्ध गराउन आग्रह गरे ।

समितिले तोकेको समयसीमाभित्र पूँजी बृद्घि नगर्ने कम्पनीको कारोबार रोक्का गर्ने पनि उनले बताए । तोकिएको समयसीमाभित्र तोकिएको पूँजी नपुर्याउने सरकारी र निजी क्षेत्रको जुन सुकै कम्पनीलाई पनि कानुनी दायरामा ल्याउने उनको भनाई थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझाले सरकारले लिएको बीमासम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनमा प्रमुख सारथी तथा सहयोगीको भूमिका निर्वाह गर्दै आफ्ना कार्यक्रममार्फत सार्वजनिक सेवा प्रदान गर्नु र बीमाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको दोहोरो दायित्व रहेको बताए ।

कम्पनीको लगानीका हिसाबले ऋणपत्र, सेयर र डिबेञ्चरमा बढी रहेको देखिएको जनाउँदै उनले हालसम्म नेपाल सरकार, बीमा समिति तथा नेपाल राष्ट्र बैंकद्घारा निर्दिष्ट गरिएका क्षेत्रहरुमा विद्यमान ऐन, नियम नीति तथा निर्देशिकाको परिधीभित्र रही विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेञ्चरमा अल्पकालिन तथा दीर्घकालिन लगानी गरी कम्पनीले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको उनको भनाइ छ ।

प्रमुख कार्यकारी अधिकृत ओझाले दीर्घकालीन लगानीको रूपमा मुख्यतय कम्पनीको सेयर नबिल बैंकमा एक करोड ७४ लाख १५ हजार १७९ कित्ता, नेपाल इन्भेष्टमेन्ट बैंकमा एक करोड ७३ लाख १६ हजार ७४४ कित्ता र नेपाल पुनर्बीमा कम्पनीमा २७ लाख ६९ हजार ५४९ कित्ता सेयर रहेको जानकारी दिए ।

नेपाल आयल निगम, नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई, प्रभु बैंक, सिभिल बैंक, नेपाल ल्यूब आयलमा पनि कम्पनीको लगानी रहेको छ । साथै, कम्पनीको २०७९ असार मसान्तसम्ममा नेपालमा रहेका केही क वर्गका वाणिज्य बैंक र ख वर्गका विकास बैंकलगायतको मुद्दती निक्षेपमा करिब पाँच सय करोड रुपियाँ लगानी रहेको उनले जानकारी उनले दिएका छन् ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कोइरालाले कम्पनीले राष्ट्रिय गौरवका परियोजनाहरुको पनि बीमा गरेको बताए । हालसालै नेपाली सेनाबाट सञ्चालनमा रहेको राष्ट्रिय गौरवको काठमाडौं–तराई मधेश फाष्ट ट्रयाक द्रुत मार्ग आयोजना, अपर तामाकोशी, हरूण तेस्रो, नेपाल एयरलाइन्स, भेरी बबई आयोजना, नेपाल राष्ट्र बैंकको नगद कोष, नेपाल आयल निगम, निजामती कर्मचारीहरुको दुर्घटना बीमा, राष्ट्रिय जनगणनाको अवधिमा परिचालन गरिएका गणकहरुको पनि दुर्घटना बीमा गरेको उनले बताए ।

यस्तै निर्वाचनका बेलामा खटिने सम्पूर्ण कर्मचारी र सुरक्षाकर्मीको पनि हामीले नै दुर्घटना बीमा गरेको पनि उनको भनाइ छ ।