५ कार्तिक २०८३, बिहिबार

भक्तपुर क्यान्सर अस्पताललाई हेल्थ एक्सचेन्ज नेपाल (युके)बाट साढे ७ लाख सहयोग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । भक्तपुर क्यान्सर अस्पताललाई हेल्थ एक्सचेन्ज नेपाल (युके) को तर्फबाट इन्जिनियर संञ्जिवमान राजभण्डारीले पाउण्ड ५००० को चेक प्रदान गरेका छन् ।

राजभण्डारीले आज विहान एक कार्यक्रमकाबीच अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा इन्जिनियर राजभण्डारीले भक्तपुर क्यान्सर अस्पताललाई हेल्थ एक्सचेन्ज नेपाल (युके)बाट नेपालको अधिकांश क्षेत्रहरुमा आर्थिक तथा भौतिक सहयोग गराएको जानकारी गराउँदै भक्तपुर क्यान्सर अस्पताललाई पनि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले स्व.विवेक बहादुर प्रधानको संयोजकत्वमा रोटरी क्लब अफ म्यान्सफिल्ड युके रोटरियनहरु तथा अन्य सामाजिक संघ संस्थाको सक्रियतामा २०५५ सालमा रेडियोथेरापी कोवाल्ट मेशिन उपहार स्वरुप प्रदान भई सञ्चालनमा आएको र भक्तपुर क्यान्सर अस्पताललाई हेल्थ एक्सचेन्ज नेपाल (युके)मार्फत विभिन्न समयमा अस्पतालमा आवश्यक उपकरणहरु सहयोग प्राप्त भएको जानकारी दिए ।

बेलायतमा रहने नेपाली मूलका शुभचिन्तकहरुबाट केही रकम संकलन गरी अस्पतालमा आउने गरीब बच्चा र महिलाहरुको लागि रेडियोथेरापी सेवा शुल्कमा केही रकम निःशुल्क गरिँदै आइरहेकोमा अब पनि निरन्तर गरिने जनाइएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलले पाउण्ड ५००० सहयोग उपलब्ध भएकोमा अस्पतालको तर्फबाट धन्यवाद दिए ।

रकमबाट अस्पतालको डे–कयर र एनेक्स वार्डका बिरामी कुरुवा बस्ने हल निर्माण कार्यमा प्रयोग गर्ने र हलको नाम स्व.विवेक बहादुर प्रधान राख्नको लागि पहल गर्ने जानकारी दिए ।

डा. विवेक प्रधानले कलकत्ताबाट मेडिसिन गरेपछि बेलायतबाट सन. १९६९ मा एमआरसीओजी विषेषज्ञ डिग्री हासिल गरे । उनी स्त्री रोगको पहिलो नेपाली पुरुष विशेषज्ञका रुपमा काम गर्न नेपाल फर्के । तर त्यसबेलाको रुढिवादी नेपाली समाजले पुरुष स्त्री विशेषज्ञलाई स्वीकार्न सकेन । फलस्वरुप उनी पुनः बेलायत फर्कन बाध्य भए ।

बेलायतको नटिङधम शायरको म्यान्सफिल्डमा सन् १९९३ सम्म काम गरेका प्रधानले अवकाशपछि रोटरी इन्टरनेशनलको सहयोगमा आवश्यक वित्तीय सहयोग जुटाइ भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी युनिटको स्थापना गरे । उनले भक्तपुरमा क्यान्सर स्क्रीनिङ र हेरचाह कार्यक्रमका साथै विशेष स्वस्थ्य परियोजना कार्यक्रम पनि स्थापना गरे ।

यस कार्यक्रमबाट असहाय रोगीहरु तथा वृद्धवृद्धाहरुलाई निःशुल्क क्यान्सर उपचार गर्न सहयोग पुग्यो । भक्तपुर क्यान्सर अस्पतालको नयाँ स्मृति भवन निर्माणको लागि रकम जुटाउने काममा पनि उनको महत्वपूर्ण योगदान रह्यो ।

सक्रिय रोटरियनको रुपमा डा. विवेकले आफ्नो सम्पूर्ण सेवा निवृत्ति समय नेपालमै क्यान्सर उपचार सुधार गर्नका लागि नै समर्पित गरे । २८ अप्रील २०२१ मा उनको निधन भयो ।

उनको निधनपछि उनको परिवार तथा साथीभाइले भक्तपुर क्यान्सर अस्पताललाई सहयोग गर्न परोपकारी संस्था हेल्थ एक्सेन्ज नेपाल (युके) मार्फत उनको सम्झनामा ५००० पाउण्ड अर्थात नेपाली रुपैयाँ करिब ७ लाख ६५ हजार रुपैयाँ सङकलन गरी सो रकमलाई अस्पतालकै विकासका लागि हस्तान्तर गरेका हुन् ।

डा.विवेकले भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न श्रोत परिचालन गरी क्यान्सरको उन्नत उपचार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा सो को कदर गर्दै उनको योगदानको सम्झना स्वरुप यस क्यान्सर अस्पतालको एउटा वेटिङ हल उनकै नाममा नामकरण गरिएको छ । उनको अमूल्य योगदान र स्वस्थ्य सेवामा समर्पित निरन्तरको लगावप्रति अस्पताल गौरवान्वित भएको जनाएको छ ।