
काठमाडौं, साउन ३। नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन आग्रह गरेका छन् ।
अनेरास्ववियू केन्द्रीय कमिटी शैक्षिक विभागले मंगलबार आयोजना गरेको राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुको विकल्प नभएको प्रष्टाए ।
‘अब फेरि हामी एक ठाउँमै आउनुपर्छ । त्यसको विकल्प छैन । योबीचको एक, डेढ वर्षलाई हामीले इतिहासको एउटा कालो वर्षको रुपमा छोडिदिउँ । धेरै पछाडि नफर्किउँ कसले के गर्यो भन्ने कुरा । जब कसले के गर्यो भन्नेकुरामा हामी जान्छौँ हामी एक अर्कालाई चिथोछौँ र घाइते बनाउँछौँ । अगाडि कसरी जाने त्यो सोचौँ । त्यसकारण त्यो एउटा नर्ककुण्ड भनौँ काँग्रेससँगको गठजोड भनेको, त्यो नर्ककुण्डबाट फर्किनुपर्छ । त्यताबाट स्वर्ग गइँदैन,’ उनले भने ।
सचिव भट्टराईले देशमा राष्ट्रिय सामर्थ्य भएको शक्ति चाहिएको बताउँदै कम्युनिस्ट तथा वामपन्थी आन्दोलनले मात्रै विदेशी शक्तिराष्ट्रहरुसँग आँखा जुधाएर बोल्न सक्ने उनले बताए ।















प्रतिक्रिया