१ कार्तिक २०८३, आइतबार

‘नाइरोबी फ्लाई’ डरलाग्दो र भयानक रोग होइन : डा ढकाल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २५ असार । झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ ।

हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षात्को मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताउनुभयो ।

उहाँले यो समस्या भाइरल इन्फेक्सनजस्तो नभएको हुँदा हालसम्म झापामा कुनै जटिल समस्यासमेत नआएको जानकारी दिनुभयो । डा ढकालले रासससँग भन्नुभयो, “छाला रोगको विशषेज्ञ भएर सेवा दिएको १७ वर्ष भयो, प्रत्येक वर्ष यो समस्या देखा पर्छ । विगतमाभन्दा अलि बढी यसपाली देखिएको हो । डरलाग्दो र भयानक रोग भने होइन ।”

“हामी यसलाई पेडेरस डर्माटाइटिस भन्छौँ”, उहाँले भन्नुभयो, “यो नाइरोबी फ्लाई नामक किराले नटोके पनि मानिसको शरीरमा लत्पतिएपछि निस्कने पिपका कारण पनि आउँछ । देख्नेबित्तिकै सफा पानीले धोएमा कुनै एलर्जी पनि हुँदैन ।”

डा ढकालले किराले सङ्क्रमण गराइहालेमा पनि नआत्तिने र बढी चिलाए वा पोलेमा नजिकको स्वास्थ्यचौकी वा छाला रोग विशेषज्ञलाई तुरुन्त देखाउन आग्रह गर्नुभयो ।

उहाँले विगतमा भन्दा मानिसमा स्वास्थ्यको चेतनास्तर वृद्धि भएपनि सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका कारण सानो समस्या देखिनेबित्तिकै बढी आत्तिने गरेको बताउनुभयो ।–रासस