
कैलाली, २१ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकमा एमाले मात्रै वामपन्थी शक्ति रहेको बताएका छन् ।
मंगलबार प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
उनले नेकपा एस र माओवादीलाई लक्षित गर्दै कांग्रेससँग मिल्नेहरु कम्युनिष्ट हुन नसक्ने बताए ।
पोखरेलले गठबन्धन सरकार पूर्ण रुपमा असफल भइसकेको बताए । एमालेलाई विस्थापित गर्दा मुलुकले दुर्भाग्य बेहोर्न बाध्य रहेको पोखरेलेको भनाइ छ ।
‘अर्थतन्त्र डामाडोल छ । मूल्यवृद्धि अत्यधिक छ । पुँजीगत खर्च लकडाउनमा भन्दा पनि खराब भएको छ त्यस अर्थमा ५ दल असफल भएको छ’, पोखेरेलले भने ।
बजेटको करको दर हेरफेर गर्न अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई प्रयोग गर्नु, सीसीटीभी फुटेज डिलिट गर्नु नीतिगत भ्रष्टचार भएको पोखेरेलले बताए ।
यसमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मिलेमतो रहेको पोखरेलले दावी गरे ।
‘प्रधानमन्त्रीको पनि मिलेमतो छ । नत्र छनबिन गरी कारबाही गर्नुपर्छ कांग्रेसकै सांसद पनि मुछिएका कारण प्रधानमन्त्री हच्किएका छन्’, उनले थपे ।
गत स्थानीय निर्वाचनमा एमालेलाई घेराबन्दी गरिए पनि गठबन्धन असफल भएको पोखरेलले बताए ।
‘सरकार असफल छ त्यसको विरुद्धमा हामी चुनावमा जान्छौं । नेकपा एमालेलाई बलियो शक्तिको रूपमा स्थापित गरेर अघि बढ्छौं । आउने निर्वाचनमा बहुमत ल्याउँछौं’, उनले भने ।















प्रतिक्रिया