१ कार्तिक २०८३, आइतबार

भानुभक्तको जन्म जयन्तीमा राष्ट्रिय कविता प्रतियोगिता हुने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, २१ असार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुई सय नवौँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको छ ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुभक्तको जन्मजयन्तीका अवसरमा आयोजना गर्न लागेको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको हो ।

कविता पठाउने अन्तिम दिन सोमबारसम्म सो कविता प्राप्त भएको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताका लागि ८७ जनाको कविता प्राप्त भएको छ । उक्त कविताहरु असार २८ गते वाचन गरिनेछ ।

कविता वाचनका लागि प्रतियोगी स्वयं उपस्थित हुनुपर्ने रानाभाटले बताउनुभयो । विकास समितिले भानुभक्तको जन्मजयन्ती तीन दिन विविध कार्यक्रमका साथ मनाउँदैछ ।

सोही क्रममा चुँदीरम्घामा कविता प्रतियोगिता आयोजना गरिएको छ । कविता प्रतियोगिताका लागि नुवाकोट, ओखलढुङ्गा, चितवन, काठमाडौँ, कास्की, रुपन्देही, तनहुँ, सुनसरी, बैतडी, मकवानपुर, बारा, रोल्पा, बर्दिया, झापा, कैलाली, नवलपरासी, खोटाङ, स्याङ्जा, पर्वत, कपिलवस्तु, भक्तपुर, लमजुङ, पाल्पा, सिन्धुपाल्चोक, गोरखा, इलाम, सिराहा, धनुषा, नवलपुर, रामेछाप, ताप्लेजुङ, अछाम, ललितपुर, दोलखा र गुल्मीबाट सहभागीले कविता पठाएका छन् ।

प्रतियोगितामा प्रथमलाई रु २० हजार, द्वितीयलाई रु १५ हजार, तृतीयलाई रु १० हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजारका दरले पुरस्कार वितरण गरिनेछ । कविता नेपाली भाषामा लेखिएको हुनुपर्ने, युनिकोडमा टाइप गरेको हुनुपर्ने, कविता कसैको व्यक्तिगत चरित्र, राष्ट्र, धर्म, जातजाति र राजनैतिक आक्षेप लगाउने किसिमको हुन नहुने जनाइएको छ ।

भानुजयन्तीका अवसरमा असार २७ गते स्थानीय मठमन्दिरमा पूजाअर्चना र साँझ दीपावली, २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगिता र विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगिता, असार २९ गते प्रभातफेरि, भानुभक्तको सालिकमा माल्यार्पण, श्रद्धाञ्जलि सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम गरिनेछ ।

विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदीरम्घामा आचार्यको जन्म भएको थियो । भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले असार २९ गते सार्वजनिक बिदा दिएको छ ।

मोतिराम भट्टले भानुभक्तलाई नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधूशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए । –रासस