
झापा, २० असार । झापाको विर्तामोडमा कोल्ड स्टो र कृषि उपज संकलन केन्द्र निर्माण गरिने भएको छ ।
नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा कोल्ड स्टोर र कृषि उपज संकलन केन्द्र निर्माणका लागि योजना अगाडि बढाइने बताएकी छन् ।
सोमबार बिर्तामोड वडा नम्बर २ को श्रीहरि सामुदायिक भवनमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रसाईले यस्तो बताएकी हुन् ।
कृषि उत्पादनलाई कुहिएर जानबाट रोक्न नगरको आफ्नै कोल्ड स्टोर र कृषि संकलन केन्द्र निर्माणको योजना बनाइने उनले बताएकी हुन् ।
त्यस्तै, मेयर प्रसाईले विचौलियाका कारण कृषकले आफ्ना उत्पादनको बजार नपाउनु दुःखद रहेको बताउँदै बजार व्यवस्थापनका लागि पनि नगरपालिकाको काम गर्ने बताइन् ।
कार्यक्रममा सहभागीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उनले बजेट अभावका कारण सबै विकास एकै पटक गर्न नसकिने बताइन् ।
त्यस्तै, नगरप्रमुख प्रसाईले योजना निर्माण स्थलहरुमा सबै परिचय खुल्ने वोर्डहरु अनिवार्य राख्नु पर्नेमा जोड दिए ।
त्यसैगरी, नगरका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगरपालिकामा सेवाग्राहीले सरल र सुलभ तरिकाले सेवा पाउने बताए ।
उनले बजेट सबै वडाहरुमा समानुपातिक ढंगले वितरण गरिने बताए ।
सहभागीहरुको जिज्ञासालाई नगरप्रमुख पवित्रा महतारा प्रसाई,उ पप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने, वडा नम्बर २का वडाध्यक्ष किशोर पौडेलले जवाफ दिएका थिए ।















प्रतिक्रिया