
गोरखा, १७ असार । प्रवल नेपालले आयोजना गरेको ‘बालबालिकासँग प्रवल’ कार्यक्रमको अवसरमा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
जिल्लाको गण्डकी गाउँपालिका–४ फुजेलस्थित दीर्धेश्वर मावि का ३० जना बालबालिकालाई कापी र कलमलगायत शैक्षिक सामग्री वितरण गरेको प्रवल नेपालकी सचिव अरुणा ढकालले जानकारी दिइन् ।
विगतका दिनहरूमा प्रवल नेपालले विभिन्न ठाउँहरुमा पुगेर त्यहाँको शैक्षिक अवस्थाबारे बुझ्दै आएको र आवश्यक देखिएको ठाउँहरुमा बालबालिकालाई विभिन्न कार्यक्रम आयोजना गरी शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको सचिव ढकालले बताइन् ।

विपन्न बालबालिकालाई लत्ताकपडा
त्यस्तै, गण्डकी गाउँपालिका–३ फुजेलस्थित भैरवश्रम माविका १२ जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको छ । ‘बालबालिकासँग प्रबल’ कार्यक्रम अन्तर्गत देशका विभिन्न जिल्लाहरुमा पुगेर हरेक विद्यालयमा एक/एक जना छात्रछात्रालाई प्रवलसँग जोडिराख्ने र त्यसो हुँदा सम्बन्धित ठाउँको समस्या पहिचान गर्न सहज हुने तथा त्यसको समाधानको बाटो खोज्न सहज हुने संस्थाकी अध्यक्ष रञ्जिता अधिकारीले जानकारी दिइन् ।
कार्यक्रममा अध्यक्ष अधिकारीले शैक्षिक सामग्री र लत्ताकपडा उपलब्ध गराइदिनु हुने थाहा युथ इन्भेष्टमेन्ट फन्डस् प्रालिप्रति संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरिन् ।
यस्तै, विद्यालयका सह–प्राधानाध्यापक ठाकुर प्रसाद पन्तले संस्थाले विद्यालयमा गर्दै आएको कार्यक्रम र सहयोगको प्रशंसा गर्दै विद्यालयले आफ्नो तर्फबाट कार्यक्रमप्रति सकारात्मक रहेको बताए ।
















प्रतिक्रिया