शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रचण्डलाई घनश्यामको जवाफः अब माओवादीको बीउ उम्रिदैन

दैनिक नेपाल २०७९ असार १५ गते १३:३६

काठमाडौँ, १५ असार । नेकपा (एमाले)का नेता घनश्याम भुसालले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई जवाफ दिएका छन् ।

भुसालले प्रचण्डले एमालेमा माओवादीको बीउ रोपेको र २ ३ वर्षपछि फल्ने भनेर दिएको अभिव्यक्तिलाई अब त्यस्तो बीउ नचल्ने भनेर जवाफ दिएका हुन् ।

वुधबार कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा एमाले नेता भुसालले माओवादीको बिउ, एमालेको बिउ वा समाजवादीको बिउ अब नचल्ने बताएका हुन् ।

‘कृषिको कुरा गर्दा हामी रैथाने बिउको कुरा गर्छौं । त्यसले आजको आवश्यकता पूरा गर्न सक्दैनन् । त्यसलाई हाइब्रिड बनाउनुपर्छ,’ भुसालले भने, ‘माओवादीको बिउ, एमालेको बिउ वा समाजवादीको बिउ अब चल्दैन । हामीले अस्ति नेकपा हाइब्रिड बनाएका थियौं । हाम्रो बुद्धि पुगेन र भकारीमै आगो लगायौं । बिउ सुरक्षित छन्, यसलाई फेरि हाइब्रिड बनाउनुपर्छ । जहाँ माओवादी, एमाले, समाजवादी केही रहने छैन, नेकपा रहने छ, कम्युनिस्ट पार्टी रहनेछ ।’

प्रचण्डको अभिव्यक्तिलाई जवाफ दिँदै भुसालले भने, ‘आजको आवश्यकतालाई उहाँले पनि राम्ररी बुझ्नु भएन । माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ, कमरेड फलानाको बिउ‘अब यी उम्रिदैनन् ।’

उनले भने, ‘कम्युनिस्ट आन्दोलनमा विभाजन, विवादको एउटा परम्परा छ । त्यो पछिल्लो दिनमा राजनीतिलाई धन्दा बनाउने र त्यो धन्दा बचाइराख्न गुटबन्दी गर्ने डरलाग्दो रोग व्यहोर्दै आएका छौं ।’

त्यस्तै, उनले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने भन्दै भने, ‘हाम्रो पुस्ताको तर्फबाट कमरेड सिद्धलालका अगाडि कसम खान्छु । यो कमजोरी हटाउन निरन्तर प्रयत्न गर्छौं, अन्तिमसम्म प्रयत्न गर्छौं, हटाउने छौं र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्नेछौं ।’

प्रतिक्रिया
सम्बन्धित