बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

म प्रधानमन्त्री नहुँदै एसपीपीको पत्र पठाइएको होः अध्यक्ष ओली

दैनिक नेपाल २०७९ असार १४ गते १८:३६

काठमाडौँ, १४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री नहुँदै अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा पत्र पठाइएको बताएका छन् ।

अध्यक्ष ओलीले तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति संशोधन गरिएको भन्दै ‘ओरिजिनल’ पत्र सार्वजनिक गर्न सरकार र अमेरिकी दूतावासलाई आग्रह समेत गरेका छन् ।

केही समय अघि एसपीपीमा सहभागीताका लागि नेपाली सेनाले पत्र पठाएको खुलेको थियो । जुन एमालेको पालामा भएको भन्दै प्रचार गरिए पनि अध्यक्ष ओलीले त्यसो नभएको बताएका हुन् ।

ओली २५ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए र १० कात्तिकमा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेख्दै एसपीपीमा सहभागीका लागि अनुरोध गरेका थिए ।

मंगलबार मदन भण्डारी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सार्वजनिक भएको पत्र नै फेक भएको आशंका गरेका छन् ।

आफू भन्दा अघि प्रधानमन्त्री बनेका कांग्रेसका शुशील कोइरालाले मन्त्रिपरिषदको निर्णअनुसार एसपीपीमा सहभागिताका लागि पत्र लेख्न सेनालाई आग्रह गरेको ओलीको भनाइ छ । तर आफूलाई बदनाम गराउन गलत प्रचार गरिएको ओलीले जनाए ।

ओलीले भने, ‘अहिले कात्तिक १० गतेको ठेगाना दिइएको छ । तर म सरकारलाई ओरिजिनल पत्र देखाउ भन्न चाहन्छु ।’

उनले थपे, ‘म प्रधानमन्त्री हुनु भन्दा अगाडिको हुनसक्छ । चलानी नम्बरमा ८५ पनि हातले लेखेको छ, पहिलेको हटाएर, पठाएको मितिमा पनि २७ अक्टोबर लेखेको छ हातले । सबै टाइप छ, पछाडि किन हातले लेख्नुप¥यो भने टिपेक्स लगाएर मेटेर हातले लेखिएको स्पष्ट छ । हातले नलेखेको पत्र निकाल्न म सरकारलाई भन्न चाहन्छु, हातले नलेखेकामा कहिलेको मितिमा थियो, त्यो ल्याऊ ।’

अध्यक्ष ओलीले सरकारले आफूलाई मुछ्न मिति सच्याइएको दावी गरे ।

ओलीले भने, ‘२७ अक्टोबर भनेर जुन मिति लेखिएको छ, त्यो २७ चाहिँ हातले लेखिएको छ । अरु सबै टाइप, २७ अक्टोबर चाहिँ हातले । केपी ओलीलाई मुछ्न आज लेखिएको हो त्यो २७ तारेख ।’ चलानी नम्बर पनि हातले लेखिएको भन्दै उनले यो सरकारले गरेको छली काम भएको आरोप लगाए ।

उनले अघि भने, ‘यो पत्र म प्रधानमन्त्री नहुँदै अमेरिकन एम्बेसीमा पठाइएको हो, अमेरिकन एम्बेसीले सत्य बोलोस् भन्न चाहन्छु ।’

तर ओलीले आफ्नै पालामा पत्र लेखिएको भए पनि आफ्नो सहमति नभएको स्पष्ट पारे । उनले तत्कालीन प्रधानसेनापति क्षेत्रीले आफूलाई नसोधी पत्र लेखेको स्पष्ट पारे । यदि सोधेको भए सरकारले रोक्ने ओलीको भनाइ छ ।

त्यस्तै, तत्कालीन रक्षा सचिव (हाल निर्वाचन आयुक्त) ईश्वर पौडेलले आफूलाई भनेको थिएँ भनेर दिएको सार्वजनिक अभिव्यक्ति झुटो भएको ओलीले बताए ।

प्रतिक्रिया
सम्बन्धित