शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पूर्व अन्तर्राष्ट्रिय खेलाडी भट्टराईलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

दैनिक नेपाल २०७९ असार १४ गते १६:१२

कास्की, १४ असार । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराइ ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित हुनुहुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अग्रज खेलाडी भट्टराईलाई उहाँले नेपालको खेल क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै सो सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

मञ्चको आयोजनामा यही असार १८ गते पोखरा सभागृहमा सञ्चालन हुने छैटौँ संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड–२०७८’ का अवसरमा भट्टराईलाई सो अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा ‘सिल्भर मेडलिस्ट’ हुनुहुन्छ । उहाँ सन् १९८९, १९९० र १९९१ मा लगातर बक्सिङमा राष्ट्रिय च्याम्पियन हुनुभएको थियो ।

सन् १९८७ मा पहिलोपटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुभएका भट्टराईले पहिलो सहभागितामै जुनियर च्याम्पियनको उपाधि हासिल गर्नुभयो । सन् १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनसीपमा उहाँले स्वर्ण पदक जित्नुभयो ।

नेपालले सन् १९९८ मा काठमाडौँमा भएको सागमा दुई स्वर्ण, पाँच रजत र दुई कास्य पदक जित्दा उहाँ नेपाली टोलीको व्यवस्थापक हुनुहुन्थ्यो । फुटबल खेलसँग समेत संलग्न भट्टराई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को केन्द्रीय सदस्य हुँदै उपमहासचिव बन्नुभयो ।

यसअघि मञ्चले यहाँका अग्रज खेलाडी प्रा डा वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्रबहादुर गुरुङ र आनन्द रञ्जितलाई सो अवार्डबाट सम्मानित गरिसकेको छ ।

मञ्चले छैटौँ पोखरा स्पोटर्स अवार्ड–२०७८ को तयारी अन्तिम चरणमा पुगिसकेको जनाएको छ । अर्वाडअन्तर्गत विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कारस्वरुप प्राप्त गर्नेछन् ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद सङ्घ, उत्कृष्ट खेल पत्रकारलाई नगद रु ३५ हजारको साथमा ट्रफी प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताउनुभयो ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमितिमार्फत कामलाई तीव्रता दिएको छ । मञ्चले खेल र खेलाडीलाई प्रोत्साहनका लागि विसं २०७२ देखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।-रासस

प्रतिक्रिया
सम्बन्धित