बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

नबिल एसएसईलाई इनेबलर्स अफ सोसल इन्टरप्रीनियरसीप अवार्ड

दैनिक नेपाल २०७९ असार १४ गते १२:५०

काठमाडौँ, १४ असार । नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्न शुरु गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम (नबलि स्कुल अफ सोसल इन्टरप्रीनियरसीप नबिल एसएसई) को पहिलो ब्याचको २० जना फेलोहरुले इनेबलर्स अफ सोसल इन्टरप्रीनियरसीप अवार्ड प्राप्त गरेको छ ।

नेपाल उद्योग परिसंघ अन्तर्गतको सीनीएफ नेपालले यो अवार्ड प्रदान गरेको हो ।

सीनीएफ नेपालले असार ११ गते काठमाडौँमा आयोजना गरेको सीनीएफ नेपाल स्टार्टअप फेस्ट २०२२ मा ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमअन्तर्गत पहिलो ब्याचका २० जना सहभागिहरुलाई सामूहिक रुपमा सो अवार्ड प्रदान गरेको हो ।

२०७८ साल चैत ७गतेदेखि शुरु गरिएको पहिलो ब्याचको फेलोशिप कार्यक्रमअन्तर्गत देशभरका ३ सया ५० जना आवेदकमध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाविद्यालय आबद्ध व्यवस्थापन सन्कायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा संचालन गरिरहेको छ ।

फेलोशिप कार्यक्रमका सहभागीहरुले कृषि, सूचना प्रविधि, हस्तकला, खाद्यन्न, कपडा उत्पादन, कफीशप संचालन लगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन् ।

हरेक महिना तीन दिन आवासीय सिकाइ र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोशिप तालिम ६ महिनासम्म चल्छ ।

बाँकी ६ महिनाका लागि सबै सहभागीहरुलाई मेन्टर सेवा दिएर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गरिन्छ ।

सामाजिक उद्यम विकासका लागि शुरु गरिएको यो नयाँ कार्यलाई प्रोत्साहन गर्न इनेबलर्स अफ सोसल इन्टरप्रीनियरसीप अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ ।

सीनीएफ नेपाल स्टार्टअप फेस्ट २०२२ युवाहरुलाई उद्यमशिलता प्रवरद्धन गर्न आयोजना गरिएकोे थियो ।

यस कार्यक्रममा नेपालमा उद्यमशिलता विकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तित्वहरुबाट विभिन्न विषयहरुमा प्रेरणादायी वक्तव्यहरु प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा ७ वटा नेपाली स्टार्टअपहरुले व्यवसाय विस्तारका लागि २४ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेका छन् ।

कार्यक्रमको उद्घाटन समरोहमा प्रमुख अतिथि उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडु तथा नेपाल सरकारका अन्य उच्च पदस्थकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित