शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

आरोहण गुरुकुलमा शुरू भयो बहुभाषिक नाटक उत्सव

दैनिक नेपाल २०७९ असार १४ गते ८:४०

काठमाडौँ, १४ असार । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आइतबारदेखि काठमाडौंको थापागाउँस्थित आरोहण गुरुकुल नाटक घरमा ‘बहुभाषिक नाट्य उत्सब २०७९’ शुरू भएको छ ।

सो उत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोट र अग्रज नाट्यकर्मी अशेष मल्लले उत्सबको संयुक्त उद्घाटन गरे ।

दुई वर्षअघि नै आयोजना हुने भनिएको यो नाटक उत्सव कोरोना महामारीका कारण बल्ल आफूहरूले आयोजना गर्न सकेको उत्सब संयोजक एवम् प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य निशा शर्माले बताइन् । आइतबारदेखि शुरू भएको यो उत्सव सप्ताहव्यापी रुपमा आयोजना हुने उत्सव संयोजक शर्माले कार्यक्रममा जानकारी गराइन् ।

उत्सवको उद्घाटन समारोहमा बोल्दै उपकुलपति डा. गुरुङले यस्ता नाटक उत्सबले भाषा भाषिकाका नाटकहरुलाई पनि मुलधारमा ल्याउन मद्दत पुर्याउने बताए ।

उत्सवको पहिलो दिन सोङकित लाप्चाको निर्देशनमा लाप्चा भाषाको नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चन गरियो । यो नाटकलाई इलामका लाप्चा समुदायले प्रस्तुत गरेका थिए । सोङकित लाप्चा, ज्ञान बहादुर लाप्चा, ओङछिरिङ लाप्चा, दीमित लाप्चा, मिनमित लाप्चा, पेमकित लाप्चा, राजेन्द्र कट्टेल, सृष्टी राई र संजोक घिमिरेले यो नाटकमा अभिनय गरेका थिए ।

यो नाटकका मुख्य पात्रले आफु सपनामा स्वर्ग गएको रमाईलो कथा सुनाउँछन् । उनको कुरा सुनेपछि गाउँलेहरु मिलेर स्वर्गजाने बाटो बनाउने निर्णय गर्छन । उनीहरुले आफ्नो पूजा विधि सम्पन्न गरेर बाटो पनि खन्छन् । तर माथि डाँडामा पुगेपछि सो बाटो लड्छ र स्वर्गजाने सपना जाने चाहना भातभुँग हुन्छ । इलामको लाप्चा उत्थान मञ्चले पहिलो पटक आफ्नो भाषामा यो नाटक मञ्चन गरेको हो । नाटकलाई दर्शकले मन पराए ।

१८ असारसम्म जारी रहने छ महोत्सबमा सोमबार थारु भाषाको कनन हरलता नाटक मञ्चन गरिएको छ । यस्तै आज मंगलबार बाम्बुले भाषाको नाटक सुम्निमा, भोलि बुधबार चाम्लिङ भाषाको नाटक सेमुना, पर्सी बिहीबार पुमा भाषाको नाटक होङछा, शुक्रबार लिम्बु भाषाको नाटक सुविउ चरी र शनिबार खस भाषाको नाटक कुटिरो मञ्चन हुने भएको छ ।

आरोहण गुरुकुल सह आयोजक रहेको यो नाटक महोत्सव गर्नुको उद्देश्य नेपाल बहुजाती बहुभाषी मुलुक भएको र ती भाषाको गीत संगीत नाटक, नाचगानको प्रोत्साहन गर्नु आफुहरुको दायित्व रहेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित