
काठमाडौं, ३ असार। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा सहभागीता जनाएकी सुजाता काफ्ले प्रतिनिधि सभाको आगामी निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा लागेकी छन्।
स्वतन्त्र वा दलगत उम्मेदवार बन्ने भन्ने निश्चित नगरे पनि चुनावमा काठमाडौंबाट मैदानमा उत्रिने तयारी थालेको काफ्लेले बताएकी छन्। ‘काठमाडौं रोजेकी छु, निर्वाचन क्षेत्र नम्बर पनि टुंगो लगाएर औपचारिक घोषणा गर्नेछु’, उनी भन्छिन्।
मुलुकमा लोकतान्त्रि प्रणाली आए पनि जनताले भनेजस्तो अवस्था हुन नसक्दा मन चिढिएपछि काफ्ले राजनीतिको मैदानमा उत्रिने सोचमा पुगिन्। उनी भन्छिन्,‘जनता सफल हुनुपर्ने राजनीतिक दल र तिनका नेताले अहिलेसम्म बनाउन सकेनन्, नयाँ पुस्ता नै मैदानमा उत्रिनुपर्ने देखियो।’
राजनीतिको बाटो जटिल भए पनि, सफलता पाउन चुनौतिलाई आत्मसाथ गरे परिवर्तन हुन सक्ने उनी ठान्छिन्। ‘प्लस साइज मोडलिङ’मा नेपाल र भारतलगायतका मुलुकमा विभिन्न उपाधी हात पारेकी काफ्ले भन्छिन्,‘एउटी नारीले जसरी घर व्यवस्थापनमा सफलता पाएकी हुन्छिन्, त्यसरी नै मुलुकको व्यवस्थापनमा पनि जिम्मेवारीपूर्वक काम गर्न सकिन्छ भन्ने आत्मविश्वास छ।’

राजनीतिमा उत्रिने प्रेरणा उनले बाबुआमाबाट समेत पाएकी छन्। व्यावसाय र राजनीतिमा पनि रुची राख्ने सुवास राज काफ्ले र उमा काफ्लेकी छोरी सुजाता भन्छिन्,‘परिवर्तन भयो भनिन्छ तर त्यसको अनुभूति कसले कसरी गरेको छ? यहि प्रश्नको उत्तर खोज्न पनि चुनावी मैदानमा उत्रिएर ठाउँमा पुग्नुछ।’
विभिन्न क्षेत्रमा सक्रिय रहेका सेलिब्रिटीले आगामी चुनावलाई लक्षित गरी उम्मेदवारी घोषणा गरिरहेका बेला सुजाता पनि मैदानमा उत्रिन लागेकी हुन्।
३७ बर्षिया उनी भन्छिन्,‘आजको पुस्ताले परिवर्तन नै खोजेको छ, त्यो भाषणको होइन व्यवाहारको परिवर्तन चाहियो भनिरहेको छ। परम्परागत राजनीतिक दल र तिनका प्रतिनिधिले गरेका छैनन्। अब हामीले नै गर्नुपर्छ।’
सुजाता मिसेस नेपाल आइनक २०१५ की सेकेन्ड रनरअप हुन् भने प्दस साइज मोडल २०१८, इन्टरनेशनल मिसेज २०१९, मिसेज इन्डिया नेपाल २०१९ की पनि सहभागी र विभिन्न विधाकी बिजेता हुन्। सामाजिक उत्तरदायीत्व, फेसबुक च्वाइस्, मिसेज चेयरम्यान प्रोफेसनललगायत उपाधी जितेकी सुजाताले विभिन्न ट्रष्टमार्फत सामाजिक कार्यमा पनि सक्रियता देखाउँदै आएकी छन्।















प्रतिक्रिया