
काठमाडौं, ३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले वन सम्पदाको संरक्षणमा नेपाली सेनाको भूमिका प्रशंसायोग्य रहेको बताएकी छिन् ।
सिन्धुलीको दुधौली नगरपालिका–३, झुँगास्थित विशाल सामुदायिक वन इलाकामा हिजो बिहीबार भएको वृक्षरोपण कार्यक्रममा हसभागी भएकी उनले नेपाली सेनाको प्रसंशा गरेकी हुन् । नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारीले नेपाली सेना र राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिको सहकार्यमा भएको वृक्षरोपण कार्यले ‘ग्लोबल वार्मिङ’लाई समेत केही हदसम्म सन्तुलनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएकी छिन् ।
आठौँ चुरे दिवसको अवसरमा देशभरका चुरे क्षेत्रहरूमा ‘एक दिनमा एक लाख वृक्षरोपण’ भन्ने नारालाई आत्मसाथ गर्दै नेपाली सेना र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको सहकार्यमा आयोजित उक्त वृक्षारोपण कार्यक्रममार्फत विभिन्न प्रजातीका करिब १६ हजार २०० वटा विरुवाहरु रोपण गरिएका छन् ।

कार्यक्रममा बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, नेपाली सेनाका बलाध्यक्ष रथी सरोज प्रताप राणा र मन्त्रिपरिषदको कार्यालय बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको उपस्थिति रहेको थियो ।
त्यस्तै राष्ट्रपति कार्यालयका प्रमुख निजी सचिव डा. भेषराज अधिकारी तथा सल्लाहकारहरु, वन मन्त्रालयका सचिव डा. पेम नारायण कँडेल, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष, सदस्य सचिव तथा अन्य पदाधिकारीहरु, दुधौली तथा कमलामाई नगरपालिकाका नगर प्रमुखहरु, सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, जिल्लास्थित कार्यालयका प्रमुख तथा अन्य सुरक्षा निकायका प्रमुखहरु र स्थानीय बुद्धिजीवी तथा पदाधिकारीहरुको उल्लेख्य उपस्थिति थियो ।















प्रतिक्रिया