१ कार्तिक २०८३, आइतबार

सेनाले पठाएको भनिएको पत्र फेक हुनसक्ने आशंका, सैनिक मुख्यालयमा आकस्मिक बैठक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । अमेरिकाको स्टेट पार्टरसीप प्रोग्राम(एसपीपी)मा सहभागी हुन नेपाली सेनाले पठाएको भनिएको पत्रबारे सत्य तथ्य तय गर्न नेपाली सेनाको मुख्यालयमा आकस्मिक छलफल बैठक बसेको छ ।

बिहीबार विभिन्न सञ्चारमाध्यममा सन् २०१५ मै नेपाली सेनाले पत्र पठाएको भन्ने खबर प्रसारण भएपछि सेनाले पत्रको आधिकारिकताबारे छलफल गरिरहेको हो ।

सञ्चारमाध्यममै आएको पत्रबारे आधिकारिता पत्ता लगाउन आकस्मिक छलफल भइरहेको सेनाका प्रवक्ता एवम् सहायक रथी नारायण सिलवालले दैनिक नेपाललाई जानकारी दिएका छन् ।

सो पत्रमा सेनाले प्रयोग गर्ने गरेको लोगोलगायत कुनै पनि ढाचाँ मिल्दैन । यसअघि एसपीपीमा नेपाली सेना सहभागी हुनेबारे ब्यापक चर्चा चलेपछि नेपाली सेनाले बुधबार त्यसको खन्डन गर्दै त्यस्तो कुनै गतिविधि नरहेको स्पष्ट पारेको थियो ।

बिहीबार सेनाको तर्फबाट अमेरिकालाई एसपीपी सम्झौताबारे अनुरोध गरिएको पत्र सार्वजनिक भएको छ । सन् २०१५ को अक्टुबर २७ मा तत्कालीन अमेरिकी राजदूत अलाइना तेप्लिजलाई सम्बोधन गरिएको पत्रमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन् । यद्यपि लेटरप्याडमा सेनाको लोगो भने छैन ।

तत्कालीन प्रधानसेनापतिले लेखेको भनिएको पत्रमा पत्र संख्या विवरण र मितिको विवरणमा दुई ठाउँ हस्तलिखित अक्षर छ । तर अन्य ठाउँमा भने कम्प्युटरमा टाइप गरिएको अक्षर रहेका छन् ।

सामान्यतः सेनाका प्रधानसेनापतिले होइन सैनिक सचिवले पत्रमा हस्ताक्षर गर्ने प्रचलन छ । यो पत्र नियोजित रुपमा बाहिर ल्याइएको र यसको आधिकारिकतामा प्रश्न रहेको सैनिक स्रोतले दावी गरेको छ ।

वुधबार मात्रै सेनाले एसपीपीमा सेनाको कुनै सम्झौता नभएको र नगरिने स्पष्ट पारेको थियो । त्यसको भोलिपल्टै सेनाले लेखेको पत्र सार्वजनिक हुनुलाई नियोजित हुनसक्ने विश्लेषण गरिएको छ ।