५ कार्तिक २०८३, बिहिबार

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले गरे मर्जर सम्झौता, मुलुककै ठूलो वाणिज्य बैंक बन्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न गाभिनको लागि बिहीबार प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मर्जरपश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आईएमई बीओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आईएमई बीओके लिमिटेडमा ५ वटा ‘क’ वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

मर्जर पश्चात् बैंकको कूल पुँजी रू. ५२.२९ अर्ब, चुक्ता पूँजी रू. ३४.४१ अर्ब, कूल निक्षेप रू. ३८४ अर्ब, कूल कर्जा रू. ३८० अर्बसहित कूल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ ।

साथै, दुवै बैंकले जेष्ठ मसान्त सम्म ६ अर्ब रूपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् । दुई बैंकहरूको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरू, ३७ लाख भन्दा बढि ग्राहकहरू सहित अन्य धेरै वित्तीय परिसुचकहरूमा ग्लोबल आईएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठूलो बैंक हुनेछ ।

दुवै बैंकहरू एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रूपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरूलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरूलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।