२ कार्तिक २०८३, सोमबार

युक्रेन युद्ध : रूसद्वारा प्रमुख सहर सेभेरोडोनेट्स्क जाने सबै पुल ध्वस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किएभ, ३१ जेठ । लडाइँ भइरहेको युक्रेनी सहर सेभेरोडोनेट्स्कका सबै पुलहरू ध्वस्त भएको स्थानीय गभर्नरले बताएका छन् ।

गभर्नर सेर्हेई हाइडाईले सहरलाई पूर्ण रूपमा विच्छेद गरिएकाले त्यहाँ आपूर्ति व्यवस्था मिलाउन र नागरिकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अब असम्भव भएको बताए । उक्त पूर्वी युक्रेनी सहरमा भीषण लडाइँ भइरहेको छ ।

त्यहाँ रुसले आफ्ना सेनाहरूलाई सैन्य केन्द्रहरूबाट बाहिर निकालेको युक्रेनी अधिकारीहरूले बताएका छन् । हप्तौँदेखि सेभेरोडोनेट्स्कमा कब्जा गर्नु रुसका लागि उच्च सैन्य लक्ष्य बनेको छ ।

सेभेरोडोनेट्स्क र नजिकैको सहर लिसिचान्स्क कब्जामा लिँदा मस्कोलाई सम्पूर्ण लुहान्स्क क्षेत्रको नियन्त्रण सहज हुनेछ । उक्त क्षेत्रका धेरैजसो भू–भागहरू रुस समर्थित पृथकतावादीहरूद्वारा नियन्त्रित छन् ।

सेभेरोडोनेट्स्कका सबै तीनवटा पुलहरू ध्वस्त भएको विवरण हाइडाईले टेलीग्राममा पोस्ट गरेका छन् । सहरमा रहेका बासिन्दाहरूलाई ‘अत्यन्तै कठिन परिस्थितिमा’ बाँच्न बाध्य पारिएको उनले लेखेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त सहरमा युद्धको मानवीय मूल्य ‘डरलाग्दो’ भएको बताएका छन् । युक्रेनी सेनाले ‘हर तरहबाट’ रुसी सेनासँग लडिरहेको उनले बताएका छन् ।

विवरणहरूमा जनाइए अनुसार उक्त सहरको लगभग ७० प्रतिशत हिस्सा अब रुसी नियन्त्रणमा पुगेको छ । रुस समर्थित स्वघोषित डोनेट्स्क पिपुल्स रिपब्लिकका सैन्य प्रतिनिधिले उक्त सहरमा बाँकी रहेका युक्रेनी सेनाहरूले ‘आत्मसमर्पण गर्नुपर्ने वा ज्यान दिनुपर्ने’ बताएका छन् । बीबीसीबाट