
काठमाडौँ, २९ जेठ । काठमाडौँ महानगरपालिकामा शौचालय सार्वजनिक प्रयोग गर्न दिनेलाई कर छुट नदिनइने तर सरसफाइ सामग्री दिइने भएको छ ।
मेयर बालेन्द्र शाह (बालेन)ले शौचालय सर्वसाधारण जनताका लागि प्रयोग गर्न दिने भनेका सरकारी, निजी संघसंस्थालाई कर छुट दिन नसकिने स्पष्ट पारे ।
शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिन कसैलाई पनि महानगरले जवरजस्ती नगरिएको बताउँदै उनले कर छुट दिन नसकिने बताए ।
‘हामीले कर गरेर शौचालय प्रयोग गर्न दिनु भनेको होइन । उहाँहरूले हामी सेवा दिन चाहन्छौं भन्नुभएको हो,’ कार्यपालिका बैठकमा आज शाहले भने, ‘उहाँहरूलाई कर छुट दिन सकिन्न । रेष्टुरेन्टलाई कर छुट दिँदा बैंकलाई दिन सकिन्छ कि सकिन्न भन्ने आउँछ ।’
सोमबार महानगरको कार्यपालिकाको बैठकमा मेयर शाहले यस्तो बताएका हुन् । कसैलाई कर छुट दिने कसैलाई नदिने गरी महानगरले भेदभाव गर्न नमिल्ने पनि उनले बताए । उनले महानगरका तर्फबाट हरेक चार महिनामा ती सार्वजनिक प्रयोग गर्न दिइएका शौचालयमा सरसफाइ सामग्री दिने बताए ।
उनले कार्यालयका सार्वजनिक शौचालय भने कार्यालय खुलेको बेला मात्रै खुल्ने जानकारी दिए । उनका अनुसार महानगरले बनाएका सार्वजनिक शौचालय भने २४ सै घन्टा खुल्ने छ ।
बैठकमा उपमेयर सुनिता डंगोलले सवैको सहयोगबाट नै महानगरले प्रगति गर्न सक्ने भन्दै राम्रो काठमाडौं महानगर बनाउने अभियानमा सहयोगी भूमिका खेल्नुपर्ने बताइन् ।
बैठकमा राखिएको एजेण्डामा सबै सदस्यहरुले सहमति जनाएर राम्रो सहयोग गरेको पनि उपमेयर सुनिताले बताइन् ।















प्रतिक्रिया