
काठमाडौँ, २९ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू अस्पतालमा अपरेशन गरेर बस्दा स्वास्थ्यकर्मीले गीत गाएर आफूलाई सुनाउने गरेको स्मरण गरे ।
शनिबार स्थानीय तह निर्वाचनमा नेकपा एमालेका पक्षमा जनमत सिर्जना गर्न योगदान गर्ने कलाकारहरूको सम्मानमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गीत संगीतको महत्वको विषयमा उनले उजागार गरेका हुन् ।
उनले सिर्जनामा शक्ति हुने र आफू बिरामी हुँदा पनि उपचारमा संलग्न डाक्टर र नर्सहरूलाई गीत गाउन लगाउने गरेको स्मरण गरेका हुन् ।
‘तपाईंहरूको सिर्जनाको के अर्थ हुन्छ ? म अप्रेसन गरेर आइसियुमा बसेको थिए । तर, त्यहाँ मैले गाउन जाने पनि नजाने पनि डाक्टर, नर्स र काम गर्ने सबैलाई गीत गाउन लगाउँथे । किनकि बिरामीसँग झगडा गर्न हुँदैन । गाउनै पर्ने थियो,’ ओलीले भने ।
उनले चिकित्सकहरूले आफूलाई जाँच्नुभन्दा पहिले गीत सुनाउने गरेको बताए । डाक्टर जाँच्न आउँदा पहिले एउटा गीत गाउने, नर्सले कुनै इन्जेक्सन लगाउँदा पहिले गीत गाउने गरेको उनी बताउँछन् ।
ओलीले ‘सालको पात टपरी हुने’ गीत डाक्टर र नर्सहरुले सुनाउने गरेको बताए ।
ओलीले बिरामी हुँदा पनि गीत सुन्दा आनन्द आउने बताए ।















प्रतिक्रिया