
काठमाडौं । आगामी कात्तिक २५ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’ मा समावेश ‘मायाको रेडियो’ बोलको गीत बुधबार सार्वजनिक गरिएको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । सरोज पौडेलको लेखन र निर्देशनमा बनेको चलचित्रको आइटम फ्लेभरको गीतमा बिनोद न्यौपाने र अलिशा शर्मा फिचर्ड छन् ।
कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा उदेश श्रेष्ठ र इन्दिरा जोशीको स्वर, राज सागरको संगीत र प्रज्वल अधिकारीको शब्द छ । कार्यक्रममा संगीतकार सागरले सबैलाई मनपर्ने खालको गीत तयार गरेको बताए । उनले आफ्नो चलचित्र संगीतको यात्रा धेरै लामो नभए तापनि यसप्रकारका गीतले आफूलाई स्थापीत गराउने विश्वास व्यक्त गरे ।
गायक उदेशले ‘लोफर’ पछि आफू यही चलचित्रबाट पुनः पाश्र्व गायनमा प्रस्तुत भएको बताए । त्यसैगरी, निर्देशक पौडेलले आफूले निकै मिहीनेत गरेर ‘वेलकम टु हेम्जाकोट’ निर्माण गरेकाले आमदर्शकको मन जित्नेमा ढुक्क रहेको बताए ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा चलचित्रका प्रमुख अभिनेता बिनोद न्यौपानेले ‘वेलकम टु हेम्जाकोट’ साँच्चै नै रमाइलो बनेको बताउदै दर्शकको माया पाउनेमा आशवादी रहेको सुनाए । ‘चलचित्र सुटिङ पूरा गर्न कोरोनालगायत धेरै अवरोधहरू आए’ उनले भने, ‘तर पनि अहिले चलचित्र हेर्दा त्यतिबेला गरेको दुःख सबै भुलाई दिन्छ । यो चलचित्रले भोलि हलमा पनि दर्शकको दुःखपीडा भुलाएर मनोरञ्जनको संसारमा सयर गराउनेम ढुक्क छु ।’
कार्यक्रममा चलचित्रकी प्रमुख अभिनेत्री अम्बिका तामाङ, सुजैरा कार्की, अस्मिता पन्तलगायत बिशाल पहाडी, शारदा गिरीले पनि आफूहरूको अभिनयलाई दर्शकले मन पराउने आशा व्यक्त गरे ।
तेजप्रसाद दाहालको प्रस्तुति, सुमन खड्का कार्यकारी निर्माता र जितेन्द्र गिरी निर्माता रहेको चलचित्रमा बिनोद, अम्बिका, सुजैरा, अस्मिताका साथमा बुद्धि तामाङ, शारदा गिरी, विशाल पहाडी, रबि गिरी, सन्दिप सिग्देल र स्व. जयनन्द लामाले अभिनय गरेका छन् । प्रवीण राई, रिता परियार, रमेश चापागाँई, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाईँ, आइतराम तामाङ, सशांक खड्का, गोपाल सानु र युवराज कट्वाल सहनिर्माता रहेको चलचित्र दीर्घ गुरुङले खिचेका हुन् ।
आरआर फिल्मसले वितरण गर्ने चलचित्र क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।















प्रतिक्रिया