
काठमाडौँ, २५ जेठ । नेकपा (एमाले)का सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘सञ्चार शिविर’ को सट्टा ‘दारु शिविर’ गर्न सरकारलाई सुझाव दिएका छन् ।
वुधबार प्रतिनिधिसभामा सञ्चार मन्त्रालयको विनियोजनमाथि खर्च कटौती प्रस्ताव पेस गर्दै उनले सञ्चार शिविरका नाममा राखिएको बजेट अनावश्यक नभएको बताएका हुन् ।
‘सञ्चार मन्त्रालयको घुम्ती शिविर राखिएको छ । त्यसलाई बजेट छुट्याइएको छ । बरु दारु शिविर राखेको भएपनि हुन्थ्यो । स्वास्थ्यको शिविर भएपनि हुन्थ्यो’, उनले भने ।
अर्थमन्त्रालयले बजेटमा ल्याएको प्रस्तावलाई सञ्चार मन्त्रालयले नै ‘कोल्याप्स’ गरेको भन्दै बाँस्कोटाले सञ्चारमन्त्रालयको बजेटमा चरम दुरुपयोगको सम्भावना रहेको बताए ।
‘बजेट वक्तव्यमा भनियो कि यो वर्ष कुनैपनि सरकारी निकायमा नयाँ सवारी साधन खरीद गरिने छैन । तर, सञ्चार मन्त्रालयले आफ्नो विनियोजनको सुरूमै ४ वटा मोटरसाइकल र ७ वटा स्कुटर किन्ने भनेर उल्लेख गरेको छ । यस्तो देखियो कि अर्थमन्त्री झूठ हो की सञ्चारमन्त्री झूठ हो’, उनले भने ।
बाँस्कोटाले नीति तथा कार्यक्रममार्फत नै ‘दुरुपयोग’ संस्थागत गरिएको बताए ।















प्रतिक्रिया