मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

एसियाली खेलकुद प्रतियोगिताको तयारी सुरु

दैनिक नेपाल २०७९ जेठ २४ गते १८:२१

काठमाडौँ, २४ जेठ । चीनमा आयोजना हुने उन्नाइसौँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण आजदेखि विधिवतरुपमा सुरुत भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले नेपालले सहभागिता जनाउने विभिन्न २३ खेलको बन्द प्रशिक्षणको उद्घाटन गर्नुभयो । उहाँले बन्द प्रशिक्षण १९औँ एसियाली खेलकुदलाई मात्रै नभई अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसमेत रहने बताउनुभयो ।

सदस्यसचिव घिसिङले पहिलो चरणको प्रशिक्षणको लागि रु पाँच करोड बजेट विनियोजन भएको र दोस्रो चरणको प्रशिक्षणको लागि पनि बजेट पारित भइसकेको उल्लेख गर्नुभयो । कार्यक्रममा उहाँले २३ खेलका सम्बन्धित खेल सङ्घका पदाधिकारीलाई खेल सामग्रीसमेत हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी खेलाडीका तर्फबाट एथलेटिक्सकी खेलाडी सन्तोषी श्रेष्ठले बन्द प्रशिक्षणले सबै खेलाडीको उत्साह बढेको बताउनुभयो । प्रशिक्षको तर्फबाट भने भारोत्तोलनखेलका प्रशिक्षक राम पौडेलले बन्द प्रशिक्षणले खेलाडी र प्रशिक्षकमा ऊर्जा थपिएको उल्लेख गर्नुभयो ।

पहिलो चरणको प्रशिक्षण यही जेठ २४ गतेदेखि आगामी असार २३ गतेसम्म चल्नेछ । तेईस खेलबाट २३० पुरुष र २८४ महिला गरी ५१४ जना खेलाडी बन्द प्रशिक्षणमा रहनेछन् ।

नेपालबाट तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्याण्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन खेलले सहभागिता जनाउनेछ ।–रासस

प्रतिक्रिया
सम्बन्धित