४ कार्तिक २०८३, बुधबार

स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली, २४ जेठ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले स्वस्थ नागरिक निर्माणका लागि स्वच्छ खाद्य आवश्यक भएको बताउनुभएको छ ।

‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ विश्व खाद्य स्वच्छता दिवसका अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतद्वारा आज यहाँ आयोजित कार्यक्रममा कृषिमन्त्री शाहीले स्वस्थ नागरिक विना मुुलुकको विकास हुन नसक्ने बताउनुभयो ।

“स्वच्छ खाद्य उपलब्धताका लागि आयातमुखी कृषि प्रणाली विस्थापित हुनुपर्दछ,” उहाँले भन्नुभयो, “अब हामीले आत्मनिर्भरमुखी बन्ने बाटोतर्फ लाग्नुपर्छ ।”

स्वच्छ खाद्य अर्थात् रैथाने बाली उत्पादनका लागि कर्णाली प्रदेश सरकारले प्राङ्गारिक प्रदेश बनाउने नीतिका साथ अभियान अगाडि बढाएको मन्त्री शाहीले बताउनुभयो । उन्नत उत्पादनका नाममा विषादी मिसिएर आउने चीज उपभोग गर्नेमा उपभोक्ताहरुलाई सचेत हुन र स्वस्थ जीवनयापनका लागि आफैँले उत्पादन गर्ने कृषि प्रणालीमा जोड दिन उहाँले आग्रह गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बजारमा बिक्रीवितरण गरिने खाद्य पदार्थमा मिसावट र मिति नाघेका सामान नबेची सामाजिक उत्तरदायित्व पूरा गर्न उद्यमी, व्यवसायीहरुलाई अनुरोध गर्नुभयो ।

रातारात धनाढ्य हुने गलत सपनाले व्यक्तिको नैतिकता र मानवीयता सकिने भन्दै प्रजिअ रिजालले सेवा र परोपकारी भावनालाई मन र मस्तिष्कमा राखेर व्यवसाय गर्न सुझाउनुभयो ।

उक्त कार्यक्रममा उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष गणेश बस्नेत, उपभोक्ता हित संरक्षण मञ्च सुर्खेतका संयोजक विन्दुलाल चौधरी लगायतले सरकारी निकायले गर्ने औपचारिक कार्यक्रममा सीमित नरही नागरिक स्वयम्ले बजारको गुणस्तर खाद्य वस्तु उपभोगमा सेचत हुन सके मात्र अभियानले सार्थकता पाउनेमा जोड दिनुभएको थियो ।–रासस