
काठमाडौं, २४ जेठ । पर्यटकीय नगरी पोखरामा हालै सञ्चालनमा आएको अन्नपूर्ण केवलकारले परीक्षा सकेर बसेका विद्यार्थीहरूलाई केवलकारको शुल्कमा ५० प्रतिशत छूट उपलब्ध गराउने भएको छ ।
उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहनती हातहरुलाई अझ मेहनती बन्नका लागि ऊर्जा प्रदान गर्ने उद्देश्यका साथ यो योजना ल्याएको अन्नपूर्ण केवलकारका महाप्रबन्धक दिनेश पौडेलले जानकारी दिए । उनका अनुसार परीक्षा सकेर बसेका प्लस–टूका विद्यार्थीलाई केही समय भए पनि रमाइलो बनाउनका लागि यो योजना ल्याइएको हो ।
योजना अनुसार प्लस–टूको पछिल्लो प्रवेशपत्र देखाएर केवलकार चढ्दा विद्यार्थीले कुल शुल्कमा ५० प्रतिशत छूट पाउने छन् । उक्त छूट उपभोग गर्न विद्यार्थीका लागि यस वर्ष प्लस–टू परीक्षामा सामेल भएको परीक्षा प्रवेशपत्र अनिवार्य देखाउनु पर्नेछ ।
सीमित अवधिका लागि ल्याइएको यो योजना आगामी २६ गतेदेखि लागू हुनेछ भने असार ३ गतेसम्म जारी रहने छ ।
पोखराको सेदी बगरदेखि सराङकोटसम्म सञ्चालनमा रहेको केबुलकारमार्फत करीब १० मिनेटमा सेदीदेखि सराङकोट पुग्न सकिने छ । पोखराको यो केवलकार पछिल्लो समय पर्यटकहरूको आकर्षक गन्तव्य बनेको छ । केवलकारको टप स्टेसन सराङकोटमा स्विइङ, स्काई साइकिलिङ, टावर रेष्टुराँलगायत अन्य विभिन्न सेवाहरू उपलब्ध छ ।















प्रतिक्रिया