४ कार्तिक २०८३, बुधबार

यौन दुर्व्यवहार भएको भन्दै पत्रकार रिना मोक्तानद्वारा पुरस्कार अस्वीकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । पत्रकार रिना मोक्तानले चलचित्र पत्रकार संघ नेपालले ’चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ नलिने घोषणा गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत आयोजक कमिटीका एक पदाधिकारीले आफूलाई पाँच वर्षअघि यौन दुर्व्यवहार गरेको भन्दै उक्त पुरस्कार नलिने घोषणा गरेकी हुन् ।

उनले लेखेकी छन्, ’मेरो कामको मूल्याङ्कन गरिदिएकोमा धन्यवाद । तर, घोषणा भएदेखि नै पुरस्कार लिने कि नलिने भन्ने द्विविधाले मलाई सताइरह्यो । घोषणासँगै पुरस्कारका आयोजक कमिटीका एक पदाधिकारीले करिब पाँच वर्षअघि गरेको यौन दुर्व्यवहारको घटना ताजा बनाइदियो । ममाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति संलग्न निर्णायक मण्डलबाट पुरस्कार नलिने निर्णय गरेकी छु । त्यही संस्थाका अन्य पदाधिकारीको साथ सहयोग पहिले पनि थियो, अब पनि सहकार्य चलिनै रहन्छ ।’

मोक्तानको आरोपपछि संघका अध्यक्ष दिनेश सिटौलाले यसबारे गम्भीर ध्यानाकर्षण भएको बताउँदै घटनाबारे छानबिन गर्न सुरक्षा भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् ।

यस्तो छ उनको घोषणाः

पुरस्कार नलिने सम्बन्धमा

गत जेठ ७ गते चलचित्र पत्रकार संघ नेपालले ’चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ घोषणा गरेको थियो, पुरस्कार पाउनेको सूचीमा मेरो नाम पनि परेकाले खुसी भएँ । मेरो कामको मूल्यांकन गरिदिएकोमा धन्यवाद । तर, घोषणा भएदेखि नै पुरस्कार लिने कि नलिने भन्ने दुविधाले मलाई सताइरह्यो । घोषणासँगै पुरस्कारका आयोजक कमिटीका एक पदाधिकारीले करिब पाँच वर्षअघि गरेको यौन दुर्व्यवहारको घटना ताजा बनाइदियो । ममाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति संलग्न निर्णायक मण्डलबाट पुरस्कार नलिने निर्णय गरेकी छु । त्यही संस्थाका अन्य पदाधिकारीको साथ–सहयोग पहिले पनि थियो, अब पनि सहकार्य चलिनै रहन्छ ।

महिलालाई आफू यौन हिंसा पीडित हो भनेर परिचय दिन पक्कै सहज छैन । तर आत्मविश्वास र आत्मसम्मानपूर्ण जीवनको महसुस गर्ने चाहनाले यो स्ट्याटस लेखेको हुँ । यो दुर्व्यवहारबारे मैले बोल्नुको अर्थ व्यक्ति र संस्थालक्षित भन्दा पनि यौन दुर्व्यवहारका प्रत्येक घटनाले मलाई जस्तै थुप्रै महिलाको आत्मविश्वासमा ठेस पुगेको छ, विशेष गरी चलचित्र क्षेत्रमा, र यस्तो प्रवृत्तिबारे अब खुलेर बोल्ने वातावरण हामीले बनाउनुपर्छ ।