४ कार्तिक २०८३, बुधबार

बलात्कार मुद्दामा हदम्याद हटाउन तयार भएन सरकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । सरकारले बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी गर्ने हदम्याद नहटाउने भएको छ ।

सोमबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै तत्काल हदम्याद नहटाउने जनाएका हुन् ।

उनले प्रचलित कानुनमा रहेको हदम्यादसम्बन्धी व्यवस्था तत्काल पुनर्विचार हुन नसक्ने बताए ।

उनले एउटा घटनालाई आधार मानेर तत्काल हदम्याद हटाउन नसकिने बताए । ‘हदम्यादका कारण न्यायबाट वञ्चित हुन नपरोस् भन्ने यहाँहरुको भावनामा सरकार गम्भीर छ । त्यसैले यो बारेमा पब्लिक डिबेट सुरु हुनेवित्तिकै सरकारले सिरिसयली लिएर नेपाल कानुन आयोगलाई यस विषयमा अध्ययन गर्न भनेको छ’ उनले भने ।

कानुन आयोगले सर्वोच्च अदालतले प्रतिपादन गरेका नजीर, विभिन्न मुलुकको हदम्यादसम्बन्धी प्रावधान र नेपालको सामाजिक परिवेश हेरेर मात्रै हदम्यादसम्बन्धी निर्णय गरिने उनको भनाइ छ ।

‘त्यो प्रतिवेदन आउनेवित्तिकै त्यसले ल्याएको पक्षमा आवश्यक छलफल कानुनमा आवश्यक सुधार गर्नेछौं’ उनले भने ।

कानुन निर्माणका क्रममा धेरै विषयमा ध्यान दिनुपर्ने भन्दै कानुनमन्त्री बन्दीले नेपालमा समाजको आवश्यकताका आधारमा बेला बेला कानुन परिवर्तन हुँदै आएको पनि बताए ।

नेपालमा मुलुकी ऐन २०२० ले बलात्कार मुद्दामा ३५ दिन हदम्याद राखेको र पछि त्यसलाई बढाएर ६ महिना बनाइएको र मुलुकी अपराध संहिता २०७४ मा एक वर्ष राखिएको उनले स्मरण गरे ।

सपना प्रधान मल्लले दायर गरेको रिटमा सर्वोच्च अदालतले प्रतिपादन गरेको नजिर अनुसार व्यापक छलफल भई चार वर्षअघि मात्र हदम्याद पुनर्विचार गरेको मन्त्री बन्दीले बताए ।

‘यसरी कानुन सुधार गर्दा एउटा परिघटनाबाट प्रभावित नभई समग्र कानुन निर्माण गर्ने क्रममा समाजको ती सवालहरुको बारेमा अध्ययन छलफल गरेर कानुन परिमार्जन गर्ने गरिन्छ’ उनले भने ।