३० आश्विन २०८३, शुक्रबार

संघीय र प्रदेश निर्वाचनमा पनि तालमेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् ।

उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन् ।

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको आउँदै गरेको परिणामबाट सत्ता गठबन्धन आबद्ध पाँचै दल हौसिएका हुन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा स्थानीय तहमा भएको तालमेलबारे समीक्षा भएको थियो ।

कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय तहमा भएको तालमेल’दयगत सत्ता गठबन्धनमा सन्तुष्टि रहेको र अब प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेल हुने जानकारी दिए ।

‘स्थानीय तहमा आएको परिणामले सत्ता गठबन्धनमा सन्तुष्टि छ, मुलुकलाई जोगाउन प्रतिगमन विरोधी तथा लोकतन्त्र पक्षधर दलहरू एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश यो निर्वाचनले दिएको छ, अब सत्ता गठबन्धन संसदीय निर्वाचनसम्म नै जान्छ, हाम्रा बीचमा चुनावी तालमेल जारी रहन्छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले स्थानीय तह निर्वाचनमा सोचे जति नतिजा नआए पनि आगामी निर्वाचनमा पनि सत्ता गठबन्धन सँगसँगै अघि बढ्ने बताए ।

‘देशको अग्रगतिका लागि गठबन्धन अझै अघि जानुपर्छ, प्रतिगमन विरोधी शक्तिहरूलाई तह लगाउन पनि आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल आवश्यक छ,’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने ।

माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले गठबन्धनको कोर्स प्रतिगमनविरुद्धको कोर्स रहेको र जनप्रतिनिधिमूलक संस्थालाई बचाउन तथा संविधानको रक्षा गर्न गठबन्धन अघि बढेको बताए ।

‘गठबन्धनको कोर्स प्रतिगमनविरुद्धको कोर्स हो, संघको निर्वाचनमा पुगेपछि त्यो कोर्स पूरा हुन्छ तर स्थानीय निर्वाचनमा गठबन्धनको जुन स्प्रिट थियो त्यो क्याच भएन,’ माओवादी केन्द्रका नेता पोखरेलले भने ।

आइतबार राति अबेरसम्म ७१८ स्थानीय तहको प्राप्त परिणामअनुसार सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस ३१४ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेर स्थानीय तहमा पहिलो शक्ति बन्ने निश्चित भइसकेको आजको राजधानी दैनिकमा महेश्वर गौतमले समाचार लेखेका छन् ।