
काठमाडौँ, २ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा एकोहोरो अग्रता कायम गरिरहेका बालेन शाहले काँग्रेसका नेताहरू प्रकाशमान सिंह र गगन थापालाई चक्मा दिएका छन् ।
बालेनसँगै मेयरको प्रतिस्पर्धा गरिरहेकी छिन्, प्रकाशमानकी धर्मपत्नी सिर्जना सिंह । तर, प्रकाशमानको क्षेत्रमा समेत सिर्जनाले मत पाउन सकेकी छैनन् । जबकी बालेनले अनपेक्षित मत पाइरहेका छन् ।
स्वतन्त्र तर्फबाट उम्मेदवार बनेका साहले लिएको अग्रताले दशकौँ राजनीति गरेकाहरुलाई पछि पारिरहेको मात्रै होइन चुनौती नै दिइरहेको छ । यद्यपि अन्तिम परिणामको लागि भने केही दिन कुर्नै पर्ने हुन्छ ।
बालेनले महानगरका वडाहरु १, २, ३, ४, ५ हुँदै वडाहरु ३१ र ३२ मा पनि अग्रता मात्रै बढाएनन् मतान्तर समेत बढाउँदै लगेका छन्।
हालको परिणाम हेर्दा भने केन्द्रीय राजनीतिमा लामो विरासत कायम गरेका केन्द्रीय नेताहरुकै भोट बालेनले तानेको देखिन्छ ।
नेपाली कांग्रेसका प्रकाशमान र गगनले जित्दै आएको क्षेत्रमा समेत बालेनले कांग्रेसकी सिर्जना सिंहभन्दा धेरै मत ल्याएका छन् ।
वडा ३१ प्रकाशमानको निर्वाचन क्षेत्र १ मा पर्ने वडा हो भने वडा नं. १ र ६ गगन थापाको निर्वाचन क्षेत्र ४ भित्रका वडाहरु हुन् ।
थापाको क्षेत्रमा पर्ने वडा नं. १ मा एमालेले जितेको छ । त्यस वडामा सबैभन्दा धेरै मत बालेनले नै पाएका छन् । कांग्रेसकी सिर्जनाले ४५१ मत पाउँदा बालेनले ७८३ मत पाएका छन् भने केशव स्थापितले ६७८ मत पाए ।
कांग्रेसका वडा अध्यक्षका उम्मेदवारले ६९८ मत मात्र पाए । त्यस्तै, गगनकै क्षेत्रको अर्को वडा नं. ६ मा प्रारम्भिक गणनामा बालेन १२४ मतसहित अघि छन् भने सिर्जना १०७ ले दोस्रो तथा केशवले १०० मत पाएका छन् ।
उता प्रकाशमानको निर्वाचन क्षेत्रको वडा नम्बर ३१ मा सिर्जनाले ४३१ मात्रै मत पाएकी छन् जबकी बालेनले ७५८ ल्याए । स्थापितले सिर्जनाभन्दा बढी ४५८ मत पाएका छन् ।
सिंहको काठमाडौँ क्षेत्र नम्बर १ मा १०, ११, २९ र ३१ वडा पर्छन् । गगनको क्षेत्र नम्बर ४ मा १, ७, ८ र ३० वडा पर्छन् । हालसम्म वडा नं. १ को मात्रै अन्तिम परिणाम आइसकेको छ । अहिले वडा २, ३, ४, ५, ६ र ३१ र ३२ को मतगणना भइरहेको छ ।
ताजा मतपरिणामअनुसार बालेनले ८०३७, स्थापित ४२५९ र सिंहले ३७०३ मत आएको छ ।
बालेनले स्थापितलाई ३७७८ मतले पछि पारिरहेका छन् ।















प्रतिक्रिया