
भक्तपुर,२६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रिय सदस्य निर्मल भट्टराईले भक्तपुर नगरपालिकामा व्याप्त भ्रष्टाचार रोक्न सर्वदलीय प्रयास आवश्यक भएको बताउनु भएको छ । भक्तपुर १ नं वडामा संयुक्त प्यानलको चुनावी सभामा उहाँले सो कुरा बताउनु भएको हो ।
भक्तपुर नगरपालिकामा एक पार्टीको एकलौटी नेतृत्व लामो समय रहँदा भ्रष्टाचार रअनियमितताका कैयन् घटना गुपचुप गराइएका छन् उहाँको कथन थियो ।
नेपाली कांग्रेसका नेता सुरेन्द्र के सीले नेपाल मजदुर किसान पार्टी आफूलाई कम्युनिष्ट पार्टी भने पनि यसको नाभी राजावादी शक्तिसंग जोडिएको बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी) केन्द्रका नेता देवेन्द्र श्रेष्टले ख्वपः विश्वविद्यालयको माग कानुनसम्मत नहुँदा स्वीकार गर्न नसकिएको खुलासा गर्नुभयो ।
सो संयुक्त चुनावी सभामा नेपाली कांग्रेसका जिल्ला नेता रविन्द्र प्रधान, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का जिल्ला संयोजक सुनिल बासु, एमाले जिल्ला नेता नारायणसुन्दर सिन्ताकल र विश्वराज सिल्पकारले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए । भक्तपुर नगरपालिका १ नं वडा अध्यक्षका संयुक्त प्यानलका उम्मेद्वार रमेश न्याँइच्याँइले अनेक प्रसङ्ग उल्लेख गरेका थिए ।
देशभर एमाले भर्सेस पाँच दलीय गठबन्धन भइरहँदा भक्तपुर नगरपालिकाका विभिन्न वडामा एमाले, काङ्ग्रेस र माओवादीले चुनावी तालमेल गरेका छन् । १ नं वडामा वडा अध्यक्षमा एमालेका रमेश न्याँइच्याँइ, सदस्यमा नेपाली काङ्ग्रेसका सिताराम न्यौपाने र रविना दुवाल तथा माओवादी केन्द्रका राजाराम श्रेष्ठ चुनावी मैदानमा छन् ।















प्रतिक्रिया