८ कार्तिक २०८३, आइतबार

राहुल गान्धीको क्लब काण्डले भारतमा हंगामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । भारतीय कांग्रेस आईका नेता राहुल गान्धी ठमेलको एक क्लबमा गएको भिडियो तथा फोटो सार्वजनिक भएपछि भारतमा हंगामा मच्चाएको छ ।

साथीको विहेमा सहभागी हुन सोमबार साँझ काठमाडौँ आएका गान्धी राति ठमेलस्थित एलओडी नाइटक्लब पुगेका थिए ।

गान्धी नाइट क्लबमा गएको भिडियो बाहिरिएसँगै भारतीय राजनीति तरंगित बनेको छ ।

सार्वजनिक भिडियोमा राहुल एक महिलासँग क्लबमा छन् । राहुलको नाइट क्लबको भिडियो सार्वजनिक भएसँगै भारतीय सत्तारुढ दल भाजपाका नेताहरुले उनको आलोचना गरेका छन् भने कांग्रेस आई प्रवक्ताले बचाउ गरेका छन् ।

भाजपा प्रवक्ता शहजाद पुनावालाले देशभित्र भइरहेका हिंसामा चिन्ता व्यक्त गर्नु, जनताको समस्यामा साथ रहनुको सट्टा नेपालमा नाइट क्लबमा पार्टी गरेर बस्नु गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् ।

उनीहरुले गान्धीको निजी मामला भए पनि देशमा भएको संकटमा जनतासँग उभिनुपर्नेमा डिस्को जानु गलत भएको बताएका छन् ।

‘कांग्रेस पार्टी सिद्धिसक्यो । तर राहुल गान्धीको पार्टी चलिरहेको छ,’ उनले व्यंग्य गरेका छन्, ‘उनी राजनीतिमा गम्भीर छैनन। उनको पार्टी र देशलाई जरुरत परेका बेला उनी नेपालमा पार्टी गरेर बसेका छन् ।’

केन्द्रीय कानुन न्यायमन्त्री किरेन रिजिजुले राहुल गान्धी भिडियो शेयर गर्दै अरुलाई उपदेश दिन सजिलो भएको तर आफूले कार्यान्वयन गर्न नपर्ने भनी प्रश्न गरेकी छन् ।

त्यस्तै, भारतीय नेताहरुले गान्धी यो कार्य ठीक नभएको भन्दै विरोध गरेका छन् ।

त्यस्तै, भाजपाका अर्का नेता कपिल मिश्राले ट्वीटरमार्फत राहुल गान्धी कोसँग डिस्को गएको भनी प्रश्न गरेका छन् । ‘के चिनियाँ एजेन्टसँग हुन ?’ उनले प्रश्न गरेका छन्, ‘के राहुलले सेनाविरुद्ध चिनियाँ दबाबमा ट्वीट गर्छन ?’

भाजपा सामाजिक सञ्जाल इन्चार्ज अमित मालवीयले पनि राहुललाई व्यंग्य गरेका छन् । ‘जब मुम्बईमाथि हमला भएको थियो, तब पनि राहुल नाइट क्लबमा थिए । अहिले जब उनको पार्टी संकटमा छ, तब पनि नाइट क्लबमै छन् । उनमा निरन्तरता छ,’ उनले भनेका छन् ।

गान्धीको विषयमा प्रश्न उठेपछि भारतीय कांग्रेसका प्रवक्ता रणदीप सुरजेवालाले भने भिडियोमा केही गलत नभएको भन्दै बचाउ गरेका छन् ।

उनले राहुल काठमाडौंमा आफ्नो साथीको विहेमा गएको र यो उहाँको व्यक्तिगत यात्रा भएको पनि स्पष्ट पारेका छन् । विहे र इन्गेजमेन्टमा सहभागी हुनु भारतीय परम्परा भन्दै प्रवक्ता सुरजेवालाले प्रधानमन्त्री नरेन्द्र मोदी नबोलाएरै पाकिस्तानमा सहभागी भए जसरी राहुल गान्धी नगएको जवाफ दिएका छन् ।

गान्धी आफ्नी नेपाली साथी सुम्निमा उदासको विहेमा सहभागी हुन काठमाडौं आएका हुन् ।

म्यानमारका लागि पूर्वनेपाली राजदूत भीम उदासकी छोरी एवं सीएनएनकी पूर्वपत्रकार सुम्निमाको नीमा मार्टिन शेर्पासँग आज विवाह हुँदैछ ।