
बागलुङ, २१ वैशाख । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपालीले नेपाली जनताले विश्वास गरेर दिएको जनमत देउवाको झोलीमा राखेर बामपन्थी राजनीतिलाई कमजोर बनाउने प्रचण्ड र माधव नेपालहरुका कारण मुलुक अस्थिरतातर्फ अग्रसर बनेको बताएका छन् ।
नेकपा एमाले काठेखोला गाउँपालिकाले सञ्चालन गरेको चुनावी अभियान अन्तर्गत मंगलवार वडा नं. ३ धम्जामा आयोजित चुनावी सभामा नेता नेपालीले यस्तो बताएका हुन् ।
नेपाली जनताले बामपन्थी शक्तिलाई सत्तामा पठाएर मुलुक परिवर्तन गराउन चाहन्थे, एमाले नेतृत्वमा बनेको सरकारले समृद्धिका थुप्रै योजना अगाडि ल्याएको थियो, तर प्रचण्ड र माधव नेपालहरुले जनताले दिएको अभिमत पूँजीवादी शक्ति नेपाली कांग्रेसलाई दिएर समाजवादको यात्रा रोकेको नेपालीको आरोप छ ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज इन्द्रलाल सापकोटाले गठबन्धनका नाममा एमालेविरुद्ध गरिएको घेराबन्दीकाविरुद्ध गाउँगाउँका जनताले संगठित भएर एमाले जिताउने अभियान सञ्चालन गरेको बताए । उनले जनतालाई एमालेले मात्रै मुलुक निर्माण गर्न सक्छ भन्ने विश्वास भइसकेकाले कसैले गठबन्धन वा अन्य नाममा एमाले सक्ने योजना बनाउँदैमा एमाले कमजोर नहुने बताए ।
पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख कृष्ण केसीले बामपन्थी विचारबाट विचलित हुँदै गएका प्रचण्ड र माधव नेपालले देउवालाई काँधमा बोकेर समाजवादको यात्रा पूरा गर्ने उल्टो बाटो हिँडेकोले देशभक्त र बामपन्थी शक्तिहरुले एमालेलाई रोज्नु पर्नेमा जोड दिए ।
एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले २०४६ सालको परिवर्तन पछि नै धम्जा एमालेको किल्लाका रुपमा स्थापित हुँदै आएको र बैशाख ३० गते हुने निर्वाचनमा पनि धम्जावासीले आफ्नो विरासत कायम राख्ने विश्वास उनले व्यक्त गरेका छन् ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य हुमाकुमारी जिसी (अञ्जु), प्रदेश कमिटी सदस्य रामबहादुर जिसी, जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, इञ्जिनीयर एशोसियन गण्डकीका संयोजक खिमानन्द कँडेल, एमाले जिल्ला सदस्य प्रेमबहादुर श्रीसलगायतले बैशाख ३० गतेसम्म सचेत भएर जनतालाई सूर्य चिन्हमा मतदान गर्ने वातावरण सिर्जना गर्न आव्हान गरेका थिए ।















प्रतिक्रिया