
प्युठान, २१ वैशाख । संविधानतः गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्थालाई पाँचदलीय गठबन्धनले बेवास्ता गरेको छ ।
नौ वटा पालिकाहरू (स्थानीय तह) रहेको प्युठानका कुनै पनि स्थानीय तहमा गठबन्धनबाट महिला उम्मेदवार प्रस्तुत गरिएका छैनन् । यसबाट गठबन्धले प्युठानमा महिलाको अधिकारलाई शून्यमा झारेको प्रष्ट हुन्छ ।
जिल्लाको सरूमारानी, माण्डवी, ऐरावती, मल्लरानी, झिमरूक, गौमुखी र नौ बहिनी गाउँपालिका तथा स्वर्गद्वारी र प्युठान नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा कतैपनि महिला उम्मेदवार छैनन् । प्रमुख र उपप्रमुखमध्ये एकमा महिला हुनैपर्ने कानुनी व्यवस्था, समावेशिताको मर्म र महिला–पुरूष समानता र साझेदारीको मान्यताविपरीत गठबन्धनले महिलाहरूलाई ठगेर आफूलाई ठगबन्धन सावित गरेको नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् प्युठान जिल्ला इञ्चार्ज सूर्य थापा बताउँछन् ।
‘प्युठानमा ठगबन्धनले प्रमुख नेतृत्वमा एकजना पनि दलित, जनजाति तथा उपप्रमुखमासम्म एक मात्र महिलाको पनि उम्मेद्वारी दिन जरूरी ठानेन । यो लज्जास्पद र घृणित कार्यअभ्यास हो,’ पोलिटब्युरो सदस्य थापाले भने, ‘यसमा निर्वाचन आयोग र काठमाडौंमा वक्तव्यबाजी गर्ने नक्कली महिला अधिकारकर्मीहरू (!)को मौनता अझै उदेकलाग्दो देखिएको छ ।’
उनले प्युठानबाटै उच्च पदमा पुगेका केही महिला नेतृ र अधिकारकर्मीहरूले यसबारे मौनता साँधेको समेत बताएका छन् । ‘जेण्डरको नाममा करोडौं डलर खेलाउने र मस्तीपूर्ण जीवन जिउने देउवापत्नी डा. आरजु, महिला समानताको भाषण गरेर नथाक्ने मोहनविक्रम पत्नी दुर्गा, लीलामणि पत्नी शशी, कृष्णध्वजपत्नी रेखा र वाइवी पत्नी उर्मिलाहरू यस्तो अभ्यासमा एक शब्द नबोली विगतमा महिला सशक्तिकरण तथा जागरणका खातिर आआफ्ना अनेमसंघको नेतृत्व गरी बसेको सकारात्मक इतिहाससमेत खरानी बनाउने कार्य गरेको देखिनु झन् खेदजनक छ,’ थापाले अगाडि भनेका छन्, ‘देउवापत्नीबाहेक बाँकी चारै जना महाशयाहरू प्युठानकै बुहारी नेतृहरू भइकन यस्तो अवस्थामा मौनब्रत बस्नु अझ मजाकको उदाहरण भएको छ ।’















प्रतिक्रिया