
काठमाडौँ, १५ वैशाख । नेकपा माओवादी केन्द्रका जिल्ला तथा स्थानीय नेताहरु कांग्रेससँगको गठबन्धनमा रुष्ट बनेका छन् ।
उनीहरुले नेकपा एमालेसँग चनावी तालमेलको सहमित मात्रै नगरेर सूर्य चिन्हबाटै निर्वाचन लड्नेसम्मको निर्णय समेत गरेका छन् ।
गुल्मीको कालिगण्डकीमा माओवादी केन्द्रले सूर्य चिन्हमा चुनाव लड्नेगरी उपाध्यक्ष लिएर एमालेको अध्यक्षलाई सहयोग गर्ने सहमति गरेको छ । धुर्कोट गाउँपालिकामा भने अध्यक्ष माओवादीलाई दिएर उपाध्यक्ष एमालेले लिएको छ । माओवादीले अध्यक्ष लिएको गाउँपालिकामा भने एमाले आफ्नै सूर्य चिन्हबाट लड्ने लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।
रोल्पाको माडीमा अध्यक्ष एमाले र उपाध्यक्ष कांग्रेसले, त्रिवेणीमा अध्यक्ष एमालेलाई र उपाध्यक्ष कांग्रेसले लिने सहमति भएको छ । विप्लव, कांग्रेस र एमालेको त्रिपक्षीय तालमेलमा विप्लव नेतृत्वको नेकपालाई सुनसहरी गाउँपालिका अध्यक्ष दिने सहमति भएको छ ।
त्यहाँ उपाध्यक्ष कांग्रेस र बहुमत वडा एमालेले लिने सहमति भएको छ । नवलपरासीको एउटा स्थानीय तहमा जनमुक्ति पार्टीले एमालेको सूर्य चिन्हमा उपप्रमुख लड्दैछ भने त्यहाँ एमालेले प्रमुख लिएको छ ।
रुकुमपूर्व र रोल्पामा कांग्रेस र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र गुल्मीमा माओवादी केन्द्र पनि एमालेसँगको तालमेलमा जोडिएको छ । गठबन्धनको शीर्ष नेतृत्वले एमालेसँग तालमेल नगर्ने निर्णय गरेपनि स्थानीय तहमा त्यस निर्णयलाई बेवास्ता गरिएको छ ।
कालिकोटका स्थानीय तहहरुमा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । त्यस्तै, डोल्पाका कतिपय गाउँपालिकामा नेकपा एसले पनि एमालेसँग तालमेल गरेको र हुम्लामा एससँगै तालमेलको प्रयत्न भइरहेको कँडेलले बताए ।
कर्णालीका ७९ स्थानीय तहमध्ये २५ नगरपालिका छन् । एमालेले ७७ ओटा स्थानीय तहमा उम्मेदवारी दिएको छ । डोल्पाको सेफोक्सुण्डो गाउँपालिका अध्यक्ष एमालेबाट निर्विरोध निर्वाचित भएका छन् ।
वागमतीका १ सय १९ स्थानीय तह रहेकोमा एमालेले नुवाकोटको किस्पाङमा माओवादी केन्द्र र सिन्धुलीको मणिन र अर्को एक गाउँपालिकामा माओवादी केन्द्रबाट बिद्रोही उम्मेदवारी दिने स्वतन्त्र उम्मेद्वारसँग तालमेल गरेको प्रदेश अध्यक्ष केशवराज पाण्डेले बताए ।
बिद्रोही अध्यक्षका उम्मेदवारले एमालेको सूर्य चिन्ह लिएर उठ्ने तयारी गरेका छन । वागमतीको काठमाडौं, ललितपुर र भरतपुर महानगरमध्ये भरतपुरमा एमालेले राप्रपासँग तालमेल गरेको छ ।















प्रतिक्रिया