
उर्लाबारी, १५ वैशाख । भदौमा आँखा फुटेको गोरुले जताततै हरियाली देख्छ भनेझैं यहाँका एकजना जनप्रतिनिधिले राजिनामा दिएपछि पनि आफुलाई सोहि हैसियतमा राखेको पाइएको छ ।
उर्लाबारी नगरपालिकाका निवर्तमान मेयर खड्ग फागुले नगरपालिकाकै एउटा कार्यक्रममा जबर्जस्त सहभागी भइ आफुलाई भोट मागेका छन् । नेपाली कांग्रेसको तर्फबाट उनी आसन्न स्थानीय चुनावमा मेयर पदका उम्मेदवार हुन् ।
पुनः उम्मेदवार हुनका लागि उनले गत आइतबार मेयर पदबाट राजिनामा दिएका थिए । यद्यपि निर्वाचन आचारसंहिता विपरीत उनी नगरपालिकाको कार्यक्रममा सहभागी भएको पाइएको हो ।
फागुले उर्लाबारी १ सीमाना बस्तीमा नगरपालिकाद्वारा संचालित तालिममा आतिथ्यता गर्नुका साथै राजनीतिक विषयमा मन्तव्य राखेको बताइएको छ । नगरपालिकाद्वारा तीन दिने महिला अनुशिक्षण तालिम टेवा पुँजी संहिता कार्यक्रम आयोजना गरिएको थियो ।
बुधबार समापन कार्यक्रममा दलबलसहित पुगेका फागुले मेयरकै हैसियतमा आतिथ्यता ग्रहण गरेको तालिममा सहभागी एक महिलाले जानकारी दिइन् । विपन्न महिलालाई लक्षित गरेर नगरपालिकाको आयोजनामा तालिम दिइएको हो । तालिममा ३० जना स्थानीय महिला सहभागी थिए ।
‘उहाँ आउनुभयो, बोल्नुभयो, जानुभयो’ महिला बालबालिका तथा सामाजिक शाखाकी प्रमुख चन्द्रकला सुब्बाले भनिन् – ‘हामीले बोलाएका थिएनौ, मन्तब्य राख्ने कार्यक्रम पनि थिएन उहाँले आफ्ना कुरा राख्नुभयो । फागुले सहभागीहरु संग भोट मागेको विषयमा उनले अनभिज्ञता प्रकट गरिन् । कांग्रेसको चुनाव चिन्ह झण्डा गाडीमा फहराउदै कार्यक्रमस्थलमा फागु आएका थिए ।’
















प्रतिक्रिया