
किभ, १५ वैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस युक्रेन पुग्नुभएको छ । उहाँले सो कुरा ट्वीट गरेर जनाउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ– म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु ।
बुधबार ट्वीट गरेर उहाँले सो कुरा जानकारी दिनुभएको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
उहाँले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिनुहुनेछ ।राष्ट्रसंघीय महासचिव गुटेरसले युक्रेनमा रहँदा यहाँका द्धन्द्धग्रस्त क्षेत्रहरुको भ्रमण गरी यहाँ आवश्यक मानवीय क्षतिको अनुगमन गरी ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने बताउनुभएको छ ।
उहाँले जतिसक्दो चाँडो युक्रेन युद्धको अन्त्य हुनुपर्ने पनि ट्वीटमा बताउनुभएको छ । महासचिव गुटेरस हालैमात्र रुसको भ्रमणमा जानुभएको थियो ।
त्यस भ्रमणका क्रममा उहाँले युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको पनि बताउनुभएको थियो ।–रासस















प्रतिक्रिया