९ कार्तिक २०८३, सोमबार

सरकारको अधोगतिः उद्योगमा घोषित लोडसेडिङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ वैशाख । सरकारले वुधबारबाट उद्योगहरुमा लोडसेडिङ घोषणा भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि लोडसेडिङ तालिका सार्वजनिक गर्न लागिएको हो ।

यद्यपि घरायसी र सामुदायिक उपभोक्ताहरुको लाइन भने नकाटिने जनाइएको छ ।

मागअनुसार बिजुली नभएसम्म उद्योगहरुमा नियमित लोडसेडिङ हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘अहिले भारतबाट बिजुली पाउन छाड्यो । करिब १० र १५ दिन हामीलाई औद्योगिक ग्राहकको बिजुली काट्नुपर्ने हुनसक्छ,’ घिसिङले भने, ‘दिउँसो त बिजुली काट्दैनौं । पिक समय र रातको समयमा कुन उद्योगमा कति बिजुली काटिन्छ भन्ने पूर्व जानकारी दिन्छौं ।’

अब हरेक दिनको लोडसेडिङका लागि बेलुका ६ बजेसम्ममा त्यस्तो जानकारी उपलब्ध गराइसक्ने प्राधिकरणले जनाएको छ । अहिले नेपालमा करिब ३ सय मेगावाट बिजुली अपुग रहेको प्राधिकरणको भनाइ छ ।

भारतको बिहार राज्य र इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मार्केटबाट समेत बिजुली पाउन छाडेपछि औद्योगिक ग्राहकको बिजुली काट्न लागिएको हो ।

भारतमा उत्पादन हुने कुल बिजुलीमध्ये ७० प्रतिशत बराबर कोइला र थर्मल प्लान्टबाट हुने गरेको छ । रुस–युक्रेन युद्धका कारण अहिले भारतमा कोइला र प्राकृतिक ग्यासको अभाव छ । जसकारण नेपालले त्यहाँबाट बिजुली नै पाउन छाडेको हो । ‘बिहारले केही दिन अघिसम्म दिउँसोको समयमा बिजुली दिइरहेको थियो । तर अहिले उसले दिन सक्दिनँ भन्यो,’ कार्यकारी निर्देशक घिसिङले थपे, ‘आईईक्सबाट पनि सय मेगावाट भन्दा कम मात्रै बिजुली पाउने अवस्था आयो ।’

यसरी आईईएक्स मार्केटबाट कुल ५ सय मेगावाट बराबर बिजुली नेपालले किन्न पाउने भएपनि भारतमै बिजुली अभावका कारण १ सय मेगावाट बराबर पनि पाउन सकेको छैन । ‘बिड गरेको सबै बिजुली आईईएक्सले दिन सकेको छैन । दामासाहीका हिसाबले दिइरहेको छ,’ घिसिङले थपे, ‘हामीले करिब ५ सय मेगावाट बिजुली किन्नका लागि बिड गरेपनि मुस्किलले १ सय मेगावाट पाइरहेका छौं ।’