
काठमाडौँ, १४ वैशाख । रुपन्देहीको बुटवलमा ५ करोड बराबरको सुन चोरी भएको छ ।
भारतबाट छिमेकी बन्न आएका भारतीय नागरिकले सोमबार राती बुटवल उपमहानगरपालिका–६ स्थित बिपी चोकमा रहेको डिलबहादुर सुनारको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट करिब ५ करोडको सुन चोरेर फरार भएका हुन् ।
तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको पीडित व्यवसायी र सुनचाँदी व्यवसायी संघले जनाएका छन् ।
व्यवसायीहरुले वुधबार पत्रकार सम्मेलनमार्फत घटनाबारे जानकारी गराएका हुन् ।
डिलबहादुरको पसलसँगै जोडिएको सटरमा पसल राख्न भन्दै भाडामा लिएर भारतीय व्यक्तिहरू बस्दै आएका थिए । प्रहरीले घटनामा उनीहरुकै संलग्न रहेको अनुमान गरेको छ ।
बुटवलको निकै व्यस्त संवेदनशील क्षेत्र मानिने त्यही स्थान धेरैजसो सुनचाँदी पसलहरु रहेका छन् ।
डिलबहादुरले डा. योगेन्द्र अग्रहरीको घरको तल्लो तलाको सटर भाडामा लिएर पसल चलाइरहेका थिए । त्यहाँको खाली रहेको सटरमा भारतीय नागरिकहरुले कपडा पसल चलाउने भनेर एक वर्षको भाडा तिरेर सटर भाडामा लिएका थिए । योजनावद्ध रुपमा चोरी गरिएको प्रहरीको अनुमान छ ।
ती व्यक्तिहरुले अग्रहरीलाई आफ्नो आधार कार्ड समेत बुझाएका बताइएको छ ।
आधार कार्डमा ती व्यक्तिको नाम राजीव शर्मा र ठेगाना किशन पुरा पुलिस चेक पोस्ट न्यू मुल्तान नगर मेरठ उल्लेख रहेको प्रहरीको भनाइ छ ।
गुल्मी मजुवाका डिलबहादुर सुनार दुई दशक दुबईमा बसेर आएपछि सुनचाँदी पसल सुरु गरेका थिए ।
कतिपय विवाहको लागि अर्डर गरी तयार गरिएका र पसलमै तयारी अवस्थामा राखिएका ३ सय ६० तोलाका गरगहना र २३ तोला काँचो सुनसहित तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको उनले बताए ।
त्यस्तै, व्यवसायिक सुरक्षामा गम्भीर प्रश्न उठेको भन्दै विरोध स्वरुप सुनचाँदी व्यवसायीले वुधबार पसल बन्द गरेको छ ।
चोरीमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रशासनलाई दबाब दिनका लागि पसल बन्द गरिएको व्यवसायीहरूले बताएका छन् ।















प्रतिक्रिया