
काठमाडौँ, ९ वैशाख । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकले वर्तमान गठबन्धन सरकारबाट मुक्ति खोजेको बताएका छन् ।
उनले वर्तमान सरकार जति दिन रहन्छ त्यति नै देशलाई संकट हुने बताए ।
शुक्रबार ललितपुरको च्यासलस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा आयोजित कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवस तथा चुनावी घोषणापत्र समोरोहमा घोषणापत्रबारे बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।
उनले देशको अग्रगतीको बाधक गठबन्धन सरकार बनेको बताए ।
‘मुलुकको अग्रगतिमा बाधक बनेर खडा भएको यो अहिलेको अविलम्ब मुक्ति खोजेको छ । मुलुकलाई यो गठबन्धनबाट मुक्त गर्नुपर्ने जरुरी छ,’ घोषणापत्र तयारी समितिका संयोजकसमेत रहेका पोखरेलले भने,‘ राजनीतिक अवसरवाद र सत्तास्वार्थ अनैतिक जगमा खडा भएको यो सरकार जति दिन रहन्छ मुलुकले त्यति संकट व्यहोर्नु अनिवार्य छ ।’
पोखरेलले संघीयताका प्रभावकारी कार्यान्वयन, जगैबाट लोकतन्त्रको सुदृढिकरण, आधारभूत तहबाटै विकास र समृद्धिको आधार निर्माणका लागि एमाललेलाई जिताउनुपर्ने बताए । उनले भने, ‘स्थानीय तहको नेतृत्व सुम्पेर मात्रै हामी राष्ट्रिय राजनीतिलााई सही बाटोमा फर्काउने कामको सुरूवात गर्न सक्छौं ।’
लोकतन्त्र, संविधान र जनादेशको लिकमा फर्काउन स्थानीय तह निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न उनले आह्वान गरे ।















प्रतिक्रिया