
काठमाडौँ, ७ वैशाख । नेकपा एमालेको प्रदेश १ कमिटीले विराटनगर महानगरपालिका, धरान र इटहरी उपमहानगरपालिकाको उम्मेदवार सिफारिस गरेको छ ।
एमाले प्रदेश १ कमिटी सचिव चिन्तन पाठकले विराटनगरमा वुधबार बसेको प्रदेश कमिटीको बैठकले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापा, परशुराम बस्नेत, बाबुराम कार्की, महेश भट्टराई र रामलाल साहको नाम केन्द्रीय कमिटी समक्ष उम्मेदवार सिफारिस गरेको जानकारी दिएका छन् ।
प्रदेश कमिटीले सुझावको रुपमा प्रदेश १ सरकारका पूर्वमन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरेको नाम पनि सिफारिस गरेको छ ।
त्यसैगरी, उपमेयरको लागि शिल्पा कार्की, विमला दाहाल र अञ्जु उपाध्यायको नाम सिफारिस भएका छन् ।
विराटनगर महानगरपालिकामा एक जनामा सहमति नभएपछि ५ जनाको नाम सफिारिस गरिएको प्रदेश १ कमिटीले जनाएको छ ।
इटहरी उपमहानगरपालिकामा प्रदेश कमिटीले उपमेयर लक्ष्मी गौतम, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, उपमहानगर अध्यक्ष यामकुमार सुब्बा र एमाले नेता बन्नुलाल चौधरीको नाम सिफारिस गरेको छ ।
जसमा प्रदेश कमिटीले दुई जनाको नाम कटौती गरेको छ । कमिटीले हालका मेयर द्वारिकलाल चौधरी र रेवती घिमिरेको नाम कटौती गरेको हो ।
चौधरीका नाम तल्लो कमिटीबाट नआएका कारण सिफारिस नगरिएको बताइएको छ । त्यस्तै, उपमेयरको उम्मेदवार छनोटका लागि संगीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस भएका छन् ।
धरानको मेयरमा एमालेले मोतीराज सुनुवार, मञ्जु भण्डारी, बिजय राई र मनोज मेन्याङ्बोको नाम सिफारिस गरिएको छ ।
नगर कमिटीले ११ जनाको नाम पठाए पनि प्रदेशले रमेश बस्नेत, किशोरकुमार कार्की, प्रकाश राई, दोर्पध्वज राई, मीन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला, तीर्थ मास्केको प्रदेश कमिटीले रद्द गरेको छ ।
उपमेयरमा भने पदम इस्बो, लहरुमाया जिमी, सविता राई, सुशीला पहाडीको नाम प्रदेश कमिटीले सिफारिस गरेको छ ।















प्रतिक्रिया