६ कार्तिक २०८३, शुक्रबार

सत्ता गठबन्धनलाई चुनावी तालमेलमा सकस : आज पनि शीर्ष नेताहरुको बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । स्थानीय तह निर्वाचनमा चुनावी तालमेल टुंग्याउन सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताको बैठक आज बस्दैछ ।

गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकले निकास दिन नसकेपछि आज बिहान ९ बजे शीर्ष तहमा छलफल हुन लागेको हो । सत्तारुढ गठबन्धनले प्रतिगमनलाई पराजित गर्न भन्दै चुनावी तालमेलको निर्णय गरेका थिए ।

तर, गठबन्धनमा आवद्व माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले भागबण्डामा बढी सिट दाबी गरेसँगै गठबन्धनमा समस्या देखिएको छ । आज प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले समाधानको उपाय निकाल्ने गठबन्धनका नेताहरुले बताएका छन् ।

गठबन्धनका दलहरुले महानगरपालिका र उपमहानगरपालिकामा बढी नै दाबी गरेपछि सकस भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको संयन्त्रको बैठकमा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर–सिमरा, हेटौंडा, घोराही र धरान उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकासहित बुटवल, हेटौंडा, इटहरी उपमहानगरपालिकाको नेतृत्वमा आफ्नो अडान राखेको छ ।

गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टीले पनि वीरगञ्ज महानगरपालिका तथा जनकपुरधाम र नेपालगञ्ज उपमहानगरपालिका पाउनुपर्ने दाबी गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

गठबन्धन घटकहरुबीच कुरा मिल्न नसकेपछि आज शीर्ष तहमा छलफल हुन लागेको हो । तालमेलमा सकस झेलिरहेका शीर्ष नेताहरू पछिल्लो केही दिनयता लगातार बैठक तथा छलफलमा जुटेका छन् । यद्यपि, समाधान निस्किने सम्भावना भने अझै देखिएको छैन ।